
काठमाडौं । इजरायल र इरानबीचको युद्ध चर्किदै गएपछि इजरायल छाडी फर्कन चाहने नेपालीको संख्या बढेको छ । दुई देशबीच गत बिहीबारदेखि युद्धमा छन् । युद्ध सुरु भएपछि एक–दुई दिन इजरायलमा रहेका नेपालीले स्वदेश फर्कन खासै चासो देखाएका थिएनन् ।
तर युद्ध टुङ्गिनेभन्दा पनि चर्कदै जाँदा बढ्दो त्रासका कारण तेल अबिबमा रहेको नेपाली दूतावासमा सम्पर्क गरी आफूहरूलाई फर्काउन अनुरोध गर्न थालेका छन् ।
“कमाइ त्यस्तै हो, बरु नेपाल फर्कन पाए हुन्थ्यो भन्नेहरू बढ्दैछन्,” इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बाह्रखरीसँग भने । इरानको मिसाइल आक्रमणका कारण इजरायलमा ठूलो क्षति भएपछि त्यहाँ अध्ययन र कार्यरत नेपालीमा त्रास बढेको हो ।
त्रसित नेपालीहरूले आफूहरूलाई स्वदेश फर्काइदिन भनेपछि तेल अविवस्थित नेपाली दूतावासले बुधबार बिहानबाट रजिष्ट्रेशन प्रक्रिया सुरु गरेको छ । दूतावासले सूचना प्रकाशित गरी इजरायलमा रहेका नेपालीहरूलाई अनलाइन रजिष्ट्रेसन गर्न भनेको छ ।
यो रजिष्ट्रेसन उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि भएको राजदूत पण्डितले बताए ।
“इजरायलमा विकसित पछिल्लो परिस्थितिबीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,” दूतावासले सूचनामा भनेको छ ।
यस प्रक्रियामा सहभागी हुन ईच्छुक नेपाली नागरिकहरूले दूतावासले उपलब्ध गरेको वेब लिङ्कमा क्लिक गरी रजिष्ट्रेशन गर्नुपर्नेछ ।
इजरायल र इरानबीच युद्ध चर्केपछि अरु राष्ट्रहरूले इजरायलमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेका छन् । कतिपय देशले दूतावासमा रहेका आफ्ना कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाएका छन् ।
यसै क्रममा नेपालले पनि उद्धारका लागि भन्दै रजिष्ट्रेसन प्रक्रिया सुरु गरेको हो । इजरायलमा ५ हजार ५ सय नेपाली भएको अनुमान छ ।
“रजिष्ट्रेसन गरेपछि यहाँबाट नेपालीलाई सुरक्षित तरिकाले कसरी निकाल्ने भन्ने समस्या छ,” राजदूत पण्डितले भने, “यहाँबाट विमान चलेका छैनन् । तत्काल उद्धार गर्नसक्ने अवस्था छैन ।”
तत्काल फर्कन चाहनेलाई पठाउने दुईवटा बाटो छन् । पहिलो, जोर्डन हुँदै र दोस्रो साइप्रस हुँदै ।
“विराटनगरका मेयरज्यूलाई बल्लतल्ल इजरायलबाट जोर्डन, कुवेत, मुम्बई (भारत), नयाँ दिल्ली (भारत) हुँदै काठमाडौं पठायौं । इजरायल सरकारको पाहुना भएर आएको हुँदा पनि यो सम्भव भएको हो । यसमा आधा खर्च (६ सय अमेरिकी डलर) त मेयर आफैँले व्यहोर्नु भएको छ,” राजदूत पण्डितले जानकारी दिए ।
विराटनगरका मेयर नागेश कोइरालाले ‘बिज्नेस क्लास’मा फर्कन चाहेपछि आधा खर्च आफैँले व्यहोर्नुपरेको थियो ।
प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायल र हमासबीच युद्ध चलिरहेका कारण इजिप्ट हुँदै उद्धार गर्न कठिन भएको छ । इजरायल र लेबनानको सीममा पनि हिज्बुल्लाह र इजरायलबीच द्वन्द्वकै अवस्था छ, जसका कारण लेबनान हुँदै उद्धार गर्न सकिँदैन ।
इजरायल र सिरियाबीच पनि तनाव छ । जसले गर्दा सिरिया पठाएर उद्धार गर्न सम्भव छैन । “इजरायलमा रहेकालाई पानी जहाजमा साइप्रस पठाएर त्यहाँबाट हवाई जहाजमार्फत उद्धार गर्न सकिन्छ, तर इरानले हाइफा पोर्टमा आक्रमण गरेका कारण यो पनि असम्भव बनेको छ,” राजदूत पण्डितले भने ।
उद्धारका लागि बचेको एउटा बाटो भनेको जोर्डन हुँदै पठाउने हो । जोर्डनमा नेपाली दूतावास छैन र जोर्डनले नेपालीलाई अन अराइभल भिसा पनि दिँदैन । जुन देशका नागरिकलाई जोर्डनले अन अराइभल भिसा दिन्छ उनीहरू जोर्डन गएर आफ्नो देश फर्कन सक्छन् । तर नेपाली नागरिकको हकमा पहिले नै भिसा लगाएर जोर्डन प्रवेश गर्नुपर्छ ।
“यतिखेर यहाँबाट जोर्डनको भिसा लगाउन सजिलो छैन,” राजदूत पण्डितले भने,” तर कोही नेपाली इजरायलबाट छिमेकी देश जान्छु भन्छ भने हामी सहजीकरण गर्न सक्छौं ।”
फ्रान्स, स्वीट्जरल्याण्ड, जर्मनी जस्ता शक्ति राष्ट्रलाई पनि इजरायलबाट आफ्ना नागरिकलाई उद्धार गर्न कठिन भइरहेको उनले जनाए । यतिखेर सुरक्षित तरिकाले इजरायलमा बस्नुको अर्को विकल्प नरहेको राजदूत पण्डितको भनाइ छ ।
अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार, गत बिहीबारबाट सुरु भएको इजरायल र इरानबीचको युद्धमा २४० जना इरानीको मृत्यु् भइसकेको छ । मृत्यु भएका इरानीमध्ये ७० जना महिला तथा बालबालिका छन् । यस्तै इरानको आक्रमणमा परी २४ जना इजरायलीको मृत्यु भएको छ ।