
काठमाडौं । सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरणले बिजुलीको माग र आपूर्तिको व्यवस्थापन गर्न पम्प स्टोरेज आयोजना अघि बढाउन लागेको छ । अधिकाँश आयोजना नदी प्रवाही (रन अफ दी रिभर) प्रकृतिका भएकाले सुक्खायाममा विद्युत आपूर्ति व्यवस्थापन जटिल बनेका बेला विद्युत प्राधिकरण विभिन्न स्थानमा पम्प स्टोेरेज परियोजनाको प्रारम्भीक काम अघि बढाएको हो ।
विद्युत प्राधिकरणले रुकुम पश्चिमस्थित बाफिकोट गाउँपालिकामा रहेको स्यार्पु दहमा ३३४ मेगावाटको पम्प स्टोरेज आयोजनाको संभाव्यता अध्ययन गरिरहेको छ । संभाव्यता अध्ययनसँगै विद्युत प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अघि बढाएको छ । इआइएका लागि क्षेत्र निर्धारण गर्न लागेको छ ।
स्यार्पु दहमा जम्मा भएको पानी उपयोग गरी ऊर्जाको उच्च माग भएको समयमा दैनिक छ घण्टासम्म बिजुली उत्पादन गर्ने योजना प्राधिकरणको छ । स्यार्पुदहमा पानीको सतह थप सात मिटर बढाइ भौगोलिक अवस्थाअनुसार साढे आठ मिटरदेखि १५ मिटर अग्लो र पाँच सय मिटर लामो निर्माण गरिने भएको छ । बाँध बनेपछि स्यार्पु दहमा ३२ लाख घनमिटर पानी भण्डारण हुने प्राधिकरणले जनाएको छ ।
यसरी भण्डारण भएको पानीलाई १.१७ किलोमिटर लामो सुरुङमार्फत बाफिकोट गाउँपालिका वडा नम्बर चार डार्ने खोलाको दायाँ किनारमा प्रस्तावित भूमिगत विद्युतगृहमा खसालेर ३३४ मेगावाट बिजुली उत्पादन गर्ने जानकारी प्राधिकरणले दिएको छ ।
विद्युत उत्पादनपछि निस्किएको पानीलाई ३५० मिटर लामो टेलरेसमार्फत सोही गाउँपालिकाको वडा नम्बर ३ र ४ स्थित रिमानीमा ७३ मिटर अग्लो तथा ३५० मिटर लामो बाँध संरचना बनाएर ४९ लाख घनमिटर पानी भण्डारण गर्ने योजना रहेको छ ।
विद्युतको माग कम भएको समयमा भण्डारण गरिएको पानीलाई १.१७ किलोमिटर लामो सोही सु्रुङमार्फत पम्प गरी पुनः स्यार्पु दहमा तानिने भएको छ । प्रस्तावित पम्प स्टोरेज आयोजनामा दुईवटा टर्वाइन जडान गरिनेछ । आयोजनाको डिजाइन वहाव १४७.६ घनमिटर हुने प्राधिकरणले जानकारी दिएको छ ।
विद्युत प्राधिकरणको आयोजना विकास विभागले मुलुकभर १५६ पम्प स्टोरेज आयोजना पहिचान गरेको छ । स्यार्पु दहका साथै ६७० मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाले पनि २०० मेगावाटको पम्प स्टोरेजबाट बिजुली उत्पादन गर्न अहिले अध्ययन गरिरहेको छ । धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकाको हुग्दी र मोवा खोलामा करिब १५९६ मेगावाटको हुलिङटार–दुकिमपम्प स्टोरेज आयोजनाको सम्भाव्यता अध्ययन हुन लागेको छ । हुग्दी माथिल्लो र मोवा तल्लो क्षेत्रमा ४५ र १०३ मिटर अग्लो बाँध बनाई दुई जलाशय निर्माण गर्ने योजना प्राधिकरणको छ । बिजुली उत्पादनपछि मोवाखोलामा पानी खसालिनेछ ।
तल्लो जलाशयमा जम्मा भएको पानीलाई पम्प गरी पुनः हुग्दी खोला माथिल्लो जलाशयमा खसालिने प्राधिकरणले जानकारी दिएको छ । आयोजनालाई ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने गरी डिजाइन प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ ।
पम्प स्टोरेजमा न्यून माग भएको समयमा पानीलाई पम्पले तानेर नदीको माथिल्लो भागमा बनाइएको जलाशयमा जम्मा गरिन्छ । पानीलाई सुक्खायाममा भएको बढी मूल्य भएको समयमा प्रयोग गरी बिजुली उत्पादन गरिन्छ । ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजनालाई महत्वपूर्ण मानिन्छ ।
प्राधिकरणले कास्कीको पोखरा महानगरस्थित बेगनास तालमा पम्प स्टोरेज आयोजना बनाउन सम्भाब्यता अध्ययन गरिरहेको छ । अब कुलेखानी जलविद्युत आयोजनामा पनि एक सय मेगावाटको पम्प स्टोरेज आयोजना बनाउन प्राधिकरण लागका छ ।
प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपा तालमा खसालेर एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको थियो ।
जापानी सहयोग नियोग (जाइका)ले गरेको अध्ययनले पिक आवरमा १५० मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिने देखाएको छ । बेगनास र रुपा तालबीचको ५७ मिटर प्राकृतिक हेडलाई प्रयोग गरी विद्युत उत्पादन गर्ने योजना छ । रुपामा खसालिएको पानी पुनः बेगनासमा फर्काइने छ । आयोजनाको लागत १३ करोड डलर अनुमान गरिएको छ ।
कुलेखानीमा प्रस्तावित पम्प स्टोरेज आयोजनाबारे प्राधिकरणले एनईए इन्जिनियरिङ लिमिटेडले प्रारिम्भिक अध्ययन गरेको थियो ।
अहिले कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कूल १०५ मेगावाट बिजुली उत्पादन क्षमता छ । कुलेखानी जलासयलाई नेपालको ऊर्जा प्रणालीको ब्याट्री भनिन्छ ।