site stats
बाह्रखरी :: Baahrakhari
देश
सिमलतालजस्तै हुनबाट जोगिएको घटना, यात्रु उद्धारको १० मिनेटपछि बगेको थियो बस

काठमाडौं । नारायणघाट–बुटवलखण्डको विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगायो ।  खोलामा फसेका यात्रुहरूलाई सशस्त्र प्रहरी बलको उद्धार टोलीले उद्धार गरेलगत्तै बस खोलाले बगाएको हो ।

काठमाडौंबाट नेपालगन्ज गएको भे१ख ४०८५ नम्बरको नाइट बस राति पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवलखण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोला पुगेको थियो ।

तर, बिहीबार साँझदेखि पहिररहेको पानीका कारण विनयी खोलामा बाढी आएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख एवम् प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार, डाइभर्सनबाट बस पार गर्न खोज्दा बस फसेको हो । बसमा तीन शिशुसहित ३८ यात्रुसवार थिए ।

बाढीकै अवस्थामा चालकले बस पार गराउन खोेज्दा फसेको हो । यात्रुहरूको उद्धार गरिएको १० मिनेटपछि खोलाले बस पल्टाएर बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनी भन्छन्, ‘‘उद्धार कार्य केही ढिलोमात्र भएको भए ठूलो मानवीय क्षति हुने अवस्था थियो । हाम्रो ३१ नम्बर गुल्म पूर्वी नवलपरासीबाट खटिएको २७ जनाको टोलीले क्रेन र डोजरको सहायताले यात्रुहरूको उद्धार गर्न सफल भएको हो । यात्रुको उद्धार गरेको १० मिनेटमै बस खोलाले बगायो ।’’

डीएसपी थापाका अनुसार, डाइभर्सनबाट पार गर्न खोज्दा लेदोमा बस फसेको थियो । उक्त बसमा दुईजना चालक थिए । एक थिए ३६ वर्षीय टिकाराम पाण्डे र अर्का थिए नरेन्द्र बोगटी ।

binayikhoila-1750407288.JPG
 

त्यसबेला बोगटीले बस चलाइरहेको बयान प्रहरीसमक्ष दिएका छन् ।

“केही बसले पार गरेको देखेपछि आफू पनि पार गरिन्छ कि भनेर चलाएको चालकले बयान दिएका छन्,” प्रहरीले चालकको भनाइ उद्धृत गर्दै भनेका छन् । उनको पनि प्रहरीले उद्धार गरेको थियो । सशस्त्र प्रहरी बलको टोली सबै यात्रुको सकुसल उद्धार गरे पनि केही यात्रुहरूका सामान भने खोलाले बगाएको छ ।

गएको वर्ष असार ३० गते यही प्रकृतिको घटना हुँदा त्रिशुलीमा दुईवटा बस बेपत्ता भएका थिए । भरतपुर महानगरपालिका–२९ नारायणी–मुग्लिन सडक खण्डको सिमलतालमा आएको लेदोसहितको पहिरोमा परी दुईवटा बस त्रिशुलीमा बेपत्ता भएका थिए ।

binayikhola-1750407288.JPG
 

दुवै बसमा सवार ६५ जना यात्रु पनि बेपत्ता भएका थिए । पछि केही यात्रुहरूको शव फेला पर्‍यो । तर, बस अझै फेला परेको छैन । पछि बसका केही टुक्रा फेला परेको थियो ।

पर्सा हुँदै काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेशको ०३–०११ ख २४९५ नम्बरको बस बेपत्ता भएको थियो ।
बसको खोजीका लागि लामो समयसम्म सशस्त्र प्रहरी बलको गोताखोरको टोली खटिएको थियो । 

त्यसबाहेक भारतबाट समेत गोताखोर टोली झिकाएर खोजी गरिएको थियो । उद्धार टोलीले अत्याधुनिक प्रविधिसहितको क्यामरामार्फत खोजी गरेको थियो । तर, बस फेला परेन ।  छानबिनका क्रममा ग्रेग्रानले सडक साँघुरो बनाउँदै गर्दा चालकहरूले त्यही बाटोमा एकले अर्कोलाई पालो नदिई पास गर्न खोज्दा दुवै फसेपछि लेदोसहितको पहिरोले बगाएको थियो । 
 

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्