
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक नरहेको बताएका छन् ।
शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग बर्तौलाले माओवादीसँग भएको सहमतिअनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्तिपिच्छे सरकारले सम्झौता गर्दै नहिँड्ने टिप्पणी गरे ।
उनले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे ।
संसदीय प्रणालीमा मुख्य विपक्षी दल नै मुख्य हुने भएकाले माओवादीसँग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको उनले बताए ।
बर्तौलाले रास्वपाले उठाएका विषयलाई समाधान गर्न सरकारले नै प्रतिवद्धता जनाइसकेको अवस्थामा नीलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरूले ‘स्टन्ट’गर्न खाजेको आरोप लगाए ।
संसदीय पद्धतीलाई ग्रहण गर्न रास्वपा असफल देखिएको उनको टिप्पणी छ । उनले रास्वपाका सांसदहरूको शैलीले स्वयं रास्वपालाई निल्ने तर्क गरे ।