
काठमाडौं । इजरायल र इरानबीचको युद्ध चर्किंदै जाँदा शक्ति राष्ट्रहरूले त्यहाँ रहेका आफ्ना नागरिकको धमाधम उद्धार गरिरहेका छन् । खासगरी जोर्डनमा दूतावास रहेका राष्ट्रले आफ्ना नागरिकको उद्धार सहजरूपमा गरिरहेका छन् । जोर्डनमा दूतावास नहुने नेपालजस्ता राष्ट्रलाई भने इजरायलबाट आफ्ना नागरिक उद्धार गरी ल्याउन सकस परिरहेको छ ।
जेठ ३० गते इजरायल–इरानबीच युद्ध सुरु भएयता इजरायलबाट एकजना नेपाली मात्र काठमाडौं फकाईएको छ । ती हुन्– विराटनगरका मेयर नागेश कोइराला । इजरायल सरकारको निमन्त्रणमा गएका कारण उनलाई फर्काउन केही सहज भएको हो । उनलाई इजरायलबाट जोर्डन, कुवेत, मुम्बई, नयाँ दिल्ली हुँदै काठमाडौं फकाईएको हो ।
कोइरालाबाहेक अरू नेपालीलाई पनि युद्ध सुरु भएपछि इजरायलबाट नेपाल फर्काउन सकिएको छैन । “एकजना चिकित्सकलाई नेपाल फर्काउन कोसिस गरेको दुई दिन भयो । अनलाइन भिसाका लागि फारम पनि भरेर बुझाउन सकिएको छैन,” इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बाह्रखरीसँग भने, “जोर्डनले अनलाइन भिसाका लागि दिएको आवेदन स्वीकारेन ।”
जोर्डनमा नेपाली दूतावास नहुँदा यो समस्या आएको हो । जोर्डनमा दूतावास हुने राष्ट्रले भने आफ्ना नागरिकलाई जोर्डनको ‘ट्रान्जिट भिसा’ दिलाउन सफल भएका छन् । भिसा पाएकै कारण आफ्ना नागरिकको इजरायलबाट उद्धार पनि गरिरहेका छन् ।
राजदूत पण्डितका अनुसार, जोर्डनले नेपालीलाई ‘ट्रान्जिट भिसा’ दिन भ्यालिड अमेरिकी वा सेन्जेन भिसा खोजेको छ । अर्थात्, जुन नेपालीको पासपोर्टमा भ्यालिड अमेरिकी वा सेन्जेन भिसा छ, उसलाई मात्र ‘ट्रान्जिट भिसा’ दिन सर्त जोर्डनले अघि सारेको छ ।
“जोर्डनमा हाम्रो दूतावास नहुँदा फर्कन चाहनेहरूलाई इजरायलबाट नेपाल पठाउन कठिन भएको छ,” राजदूत पण्डितले भने ।
राजदूत पण्डितका अनुसार, इजरायलबाट उद्धार गरी पठाउने मुख्य गरी दुईवटा बाटो छन् । पहिलो, जोर्डन हुँदै र दोस्रो इजिप्ट हुँदै । युद्धका कारण हवाई जहाज चलेका छैनन् । सडक मार्गबाट इजिप्टको सीमासम्म पुग्न करिब १५ घण्टा लाग्ने उनले जनाए, जुन यो सहज छैन ।
तेल अबिबबाट साढे दुई घण्टामा जोर्डनको सीमा पुगिन्छ । हालका लागि सबैभन्दा सहज बाटो भनेको यही हो । तर, जोर्डनले भ्यालिड अमेरिकी वा सेनजेन भिसा खोजेपछि नेपालीलाई जोर्डन हुँदै उद्धार गर्न पनि असहज बनेको छ ।
“भ्यालिड अमेरिकी वा सेनजेन भिसा नभई ‘ट्रान्जिट भिसा’ दिदैनौँ भन्छन्,” राजदूत पण्डितले भने ।
इजरायलमा दुईथरी नेपाली छन् । एकथरी, नेपाली पासपोर्टमा केयर गिभर र विद्यार्थी भिसामा जाने । अर्काथरी, भारतीय पासपोर्टमा 'डंकी रुट' हुँदै इजरायल पुग्ने ।
इजरायलले ‘जीटूजी’ प्रक्रियामार्फत नेपालबाट ‘केयर गिभर’मा लग्दै आएको छ । राजदूत पण्डितका अनुसार, इजरायलले कृषिलगायत क्षेत्रमा नेपाली कामदार लगेको छैन । जुन क्षेत्रमा इजरायलले नेपाललाई लगेको छैन, ती क्षेत्रमा नेपालीहरू भारतीय पासपोर्टमा काम गर्न जाने गरेका छन्, भारतीय बनेर ।
“४३ लाख रुपैयाँसम्म तिरेर भारतीय पासपोर्टमा डंकी रुट हुँदै नेपालीहरू इजरायल आएको हामीले सुनेका छौँ,” राजदूत पण्डितले भने, “यसरी आउनेको संख्या यत्ति नै छ भन्न सकिँदैन, तर निकै ठूलो छ ।”
इजरायलमा वैधानिक तरिकाले गएका नेपालीको संख्या पाँचहजार ५०० को हाराहारीमा छ । लगभग यत्ति नै संख्या अवैध तरिकाले भारतीय पासपोर्टमा जानेहरू रहेको अनुमान छ । सन् २००८ देखि नेपालीहरू भारतीय पासपोर्टमा इजरायल जान थालेका हुन् । एजेन्टहरूको सहयोगमा भारतको सिक्किम, दार्जिलिङ, मणिपुर, देहरादुनलगायत ठाउँबाट नेपालीले पासपोर्ट बनाउने गरेका छन् ।
उद्धार सहज भइहाले पनि भारतीय पासपोर्टमा जाने नेपालीलाई उद्धार गर्न कठिन हुनेछ । उनीहरूलाई भारत र नेपाल दुवैले उद्धार गर्न कठिन हुने भनाइ राजदूत पण्डितको छ ।
भारतीय पासपोर्टमा इजरायल पुगेका नेपालीको त्यहाँ मृत्यु हुँदा शव ल्याउने क्रममा यसअघि थुप्रैपटक यस्ता समस्या दूतावासले झेल्नुपरेको छ । पासपोर्टका आधारमा इजरायलले शव भारतमा पठाउने गर्छ, त्यसपछि उक्त शव नेपाल ल्याउन कठिन हुने गरेको छ । यस्तै समस्या उद्धारमा पनि हुनेछ ।
राजदूत पण्डितका अनुसार, भारतले इजरायलमा रहेका आफ्ना नागरिकको उद्धारमा ‘रेस्क्यू फ्लाइट’ गर्न खोजिरहेको छ । छिमेकी राष्ट्रले गर्ने रेस्क्यू फ्लाइटमा सकेसम्म फर्कन चाहने नेपालीलाई पनि राखिदिन अनुरोध गरिएको छ ।
“अझै पनि धेरैजसो नेपाली फर्कन चाहेका छैनन् । सायद नेपाल फर्केपछि फेरि इजरायलमा काममा फर्कन नपाइने हो कि भन्ने चिन्ताले पनि हुनसक्छ,” राजदूत पण्डितले बताए, “जे होला भोग्छौँ भन्नेहरू छन् ।”
बेलायती समाचार संस्था बीबीसीका अनुसार, धेरै देशहरूले इजरायल र इरानमा फसेका आफ्ना नागरिकलाई सुरक्षितरूपमा बाहिर निकाल्न अभियान चलाइरहेका छन् ।
अस्ट्रेलियाले इरानबाट एकहजार ५०० र इजरायलबाट एकहजार २०० आफ्ना नागरिकलाई फिर्ता लैजाँदै छ । चीनले इरानबाट एकहजार ६०० भन्दा बढी र इजरायलबाट सयौँ नागरिकलाई बाहिर निकालेको छ ।
भारतले बिहीबार इरानबाट ११० जना भारतीय विद्यार्थी फर्काएको बीबीसीले जनाएको छ । भारतीय विदेश मन्त्रालयले इजरायलमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउने तयारी भइरहेको जनाएको छ ।
जापानले इरान र इजरायलमा फसेका आफ्ना नागरिकलाई बाहिर निकाल्न दुई सैन्य विमान पठाएको छ । इजरायल–इरानबीच युद्ध सुरु भएपछि करिब तीनहजार पाकिस्तानीले इरान छाडेका छन् ।