
सिड्नी । हामी समाचार सुन्थ्यौँ, अस्ट्रेलियाका विमानस्थलमा ग्रुन्द्रुक, सुकुटी र छुर्पी ल्याउँदा नेपालीलाई जरिबाना तिराइयो ।कतिपय देशमा हाम्रा खानेकुरा प्रतिबन्ध समेत थिए ।
तर, अहिले अस्ट्रेलियामा नेपाली समाज बढेसँंगै अवस्थाले कोल्टे फेरेको छ । काठमाडौंमा बिरलै पाइने नेपाली खाद्यान्न यतिबेला सिड्नीका नेपाली बजारमा सहजै पाइन्छ ।
मार्सी चामल होस् या मुस्ताङको थकाली दाल । फापरको पिठो वा मकैको च्याँख्ला, इलामको डल्ले खुर्सानी होस् अथवा लेकको सीमी, तामा र गुन्द्रुक जे चाहियो त्यही पाइन्छ, अस्ट्रेलियामा ।
यतिबेला सिड्नी केन्द्रित रहेर तीन स्याङजाली ठिटाहरूले मुनलाइट बजारका रूपमा अस्ट्रेलियामा ढ्यांग्रो ठोकेका छन् । जेठा भेषराज, माइला तोया र कान्छा प्रकाश भट्टराईले सिड्नीका ग्रानभिलमा दुईवटा, मक्वारी पार्क, बरउड र मेरिल्यान्डमा गरी पाँचवटा मुनलाइट बजार संचालनमा ल्याएका छन् । नेपाली स्वाद र नेपालीपनको पारखीका लागि उनीहरूले तास्मानियाको होवार्टमा समेत एउटा स्टोर चलाएका छन् ।
मासुमा खसी, लोकल कुखुरा र बँदेलका मासुदेखि ससेजसम्मको ब्यापार गर्ने मुनलाइटले तरकारीसँगै नेपाली खानाहरू बजारमा पस्किने गरेको छ ।
नेपाली २० करोड लगानीमा सञ्चालनमा रहेका यी मुनलाइट नेपाली बजार सर्वसुलभ र बजारमूल्यको कसीमा निकै अब्बल ठहरिँदै आएका छनर ।
शनिबार सिड्नीको बरउडमा मुनलाइटको नयाँ स्टोरको उद्घाटन गरिएको छ । कोरियन र चाइनिजको बाहुल्यता रहेको यो क्षेत्रमा नेपाली विद्यार्थीको पनि बाक्लो उपस्थिति छ ।
“अस्ट्रेलियामा नेपाली समुदाय, तुलनात्मकरूपमा नयाँ, गतिशील र मर्यादित समुदायको रुपमा चिनिन्छ । यसकारण पनि हाम्रो व्यवसायमा सबैको माया प्राप्त गरेको महसुस गरेका छौँ,” प्रकाश भट्टराई भन्छन् । यसै हप्ता मासुको मात्र मुनलाइट बुचरी मेरिल्यान्डमा खुल्न लागेको प्रकाशले जानकारी दिए ।
अस्ट्रेलियामा नेपालीको बसोबास ७० को दशकमा सुरु भए पनि ९० को दशकपछि नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा नेपाली समुदायको बसोबास ठूलो हिस्सामा ग्रेटर सिड्नीको सेरोफेरोमा रहेको छ ।
“यो कारण पनि हामीलाई हाम्रो खाना र हाम्रो स्वादको बजार विस्तार गर्न सम्भव भएको हो,” अर्का भाइ तोया भट्टराई भन्छन्, “हामी तिहारमा मखमलीको माला होस् अथवा छठमा नरिवल वा दसैँमा खसी वा अन्य कोदो ,फापर, च्याँख्ला सबै चिज एकै ठाउँमा खोजेको बेला रोजेर लान पाइयोस् भन्ने विश्वास राख्छौँ,” तोयाले भने ।
“अहिले सिड्नीमा नेपाली व्यवसायहरूमा अनपेक्षित वृद्धि भएको छ । दैनिक उपभोगका सामानहरू हाम्रो समाजको पहिलो प्राथमिकता पनि हुन्,” जेठा भेषराज भन्छन्, “त्यसमाथि स्वादे जिब्रो हाम्रो अलग पहिचान पनि हो । अस्ट्रेलियामा नेपाली समाज बढेसँगै विषयहरूमा पनि हाम्रो स्वाद र परिकारका टड्कारो आवश्यकता महसुस गरियो ।”
अहिले नेपालीले खाजेको र रोजेको नेपाली परिकार सिड्नीमा सहजै पाइने उनी बताउँछन् ।
कतिपय काठमाडौंमा बिरलै पाइने स्वाद पनि यता सहजै पाइने भेषराज बताउँछन् ।
“पछिल्लो हप्ता सिस्नोको साग र चम्सुरको साग, मुन्टा सिड्नीमा खान पाइयो,” ग्रानभिल नेपाली समाजका अध्यक्ष भीम बस्नेतले भने, “योभन्दा रमाइलो कुरा के हुन सक्छ ?”