
जेरुसेलम । इजरायली सुरक्षाकर्मीले दक्षिण लेबनानको नकौरानजिक हिजबुल्लाह समूहको एउटा स्थलमा आक्रमण गरेका छन् । इजरायली परराष्ट्रमन्त्रीले यसअघि हिजबुल्लाहलाई इरान–इजरायल युद्धमा भाग लिन नदिने चेतावनी दिएका थिए ।
इजरायली सेनाले भनेको छ, “हामीले रातभरि नकौरानजिक रहेको हिजबुल्लाहको संरचनास्थलमा आक्रमण गरेका छौँ ।” त्यो स्थल हिजबुल्लाहले इजरायली नागरिकविरुद्ध आतंककारी गतिविधि गर्न प्रयोग गर्दै आएको थियो ।
“हामीले हिजबुल्लाहका एक आतंककारीलाई पनि मार्न सफल भएका छौँ,” सेनाले भनेको छ ।
यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयले शुक्रबारको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ । त्यो आक्रमण इजरायली ड्रोनले गरेको विश्वास गरिन्छ ।
नोभेम्बर महिनामा भएको स्थिरता सम्झौताका बाबजुद इजरायली र हिजबुल्लाहबीच तनाव अझै जारी छ । उक्त सम्झौताअनुसार दुई पक्षबीचको द्वन्द्व समाप्त गर्न प्रयास हुँदै आएको थियो । तर, सीमा क्षेत्रको पछिल्लो गतिविधिले स्थिति जटिल बनेको छ ।
लेबनानको सेनाले युद्धविराम पालना गर्दै हिजबुल्लाहको संरचना तोड्ने काम गरिरहेको छ । रासस/एएफपी