
काठमाडौं । इजरायलले हत्या गर्ने डरले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हाल आफ्ना कमान्डरसँग विश्वासिलो सहयोगीमार्फत कुराकानी गर्छन् । र, उनलाई पत्ता लगाउन कठिन बनाउन इलेक्ट्रोनिक सञ्चार बन्द गरेका उनको आपत्कालीन युद्ध योजनाबारे जानकार तीन इरानी अधिकारीले बताएका द न्युयोर्क टाइम्सले जनाएको छ ।
बंकरमा बसेर सर्वोच्च नेता खामेनीले आफ्ना विश्वासिला सहयोगीको हत्या भएमा सैन्य कमान्डको शृंखलामा विभिन्न तहगत विकल्प (प्रतिस्थापन) छनोट गरेका जनाइएको छ । खामेनीले आफ्नो मृत्यु भएको खण्डमा उत्तराधिकारी बन्न सक्ने तीन वरिष्ठ धर्मगुरुको नाम समेत तोकेका अधिकारीहरूले बताए ।
यो सम्भवतः उनको र उनको तीन दशक लामो शासनले सामना गरिरहेको संकटपूर्ण क्षणको सबैभन्दा स्पष्ट संकेत भएको जनाइएको छ ।
खामेनीले इजरायलले पछिल्लो आक्रमण सुरु गरेदेखि इस्लामिक गणतन्त्रलाई जोगाउन असाधारण कदम चालेका छन् । इरानमा यो इजरायली आक्रमण इराकसँगको सन् १९८० को दशकको युद्धपछि सबैभन्दा ठूलो सैन्य हमला हो । इरानको राजधानी तेहरानमा यसको प्रभाव विशेष रूपमा परेको छ । इजरायली आक्रमणले तेहरानमा सद्दाम हुसेनले आठवर्षे युद्धमा गरेको भन्दा धेरै क्षति केही दिनमै पुर्याएको जनाइएको छ ।
हुनत इरानले प्रारम्भिक झट्कालाई पार गरेको जस्तो देखिन्छ । इरानले इजरायलमाथि दैनिक जवाफी हमला गरिरहेको छ । इजरायलको एक अस्पताल, हाइफा तेल रिफाइनरी, धार्मिक भवन र घरहरूमा क्षति पुर्याएको छ ।
इरानका शीर्ष अधिकारीले युद्ध तीव्र हुँदै जाँदा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वमा प्रवेश गर्ने/नगर्ने विचार गर्दै गर्दा विभिन्न परिणामका निम्ति चुपचाप तयारी गरिरहेका समाचारमा उल्लेख छ ।
अयातोल्लाहको योजनाबारे सार्वजनिक रूपमा बोल्न अनुमति नभएका कारण नाम नखुलाउने सर्तमा इरानी अधिकारीले जानकारी दिएका द न्युयोर्क टाइम्सले जनाएको छ ।
इरानको कडा रूपमा संरक्षित नेतृत्वभित्रका जानकारी प्राप्त गर्न सजिलो छैन । इजरायलको आक्रमण कडा भए पनि यसको कमान्डको शृंखला अझै यथावत् रहेको देखिन्छ ।
सरकारी अधिकारी र इरानका कूटनीतिज्ञका अनुसार, राजनीतिक तहमा असन्तुष्टिको कुनै स्पष्ट संकेत बाहिर प्रकट भएको नदेखिएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।