
काठमाडौं । वर्षाका कारण मेलम्ची नदीको पानी धमिलो भएसँगै काठमाडौं उपत्यकामा आपूर्ति रोकिएको छ । उपभोक्तालाई जानकारी नै नदिई मेलम्ची खानेपानी आपूर्ति बन्द गरिएको हो ।
पानी धमिलो भएकाले आपूर्ति रोकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राईले बताए । “औपचारिक रूपमा आमउपभोक्तामाझ जानकारी नदिए पनि वर्षाका कारण पानी बन्द गर्नुपर्यो । वर्षाको प्रकृति हेरेर अब कहिले पुनः पानी पथान्तरण गर्ने भन्ने टुंगो हुँदैन,” उनले बाह्रखरीसँग भने ।
वर्षासँगै मेलम्चीमा पानीको बहाव बढेको छ । र, पानी धमिलो भएको केयूकेएलले जनाएको छ । धमिलो पानी फिल्टर गर्ने प्रविधि नभएको प्रवक्ता राईले बताए । “धमिलो पानी फिल्टर गर्नको लागि हामीसँग क्यापासिटी छैन । त्यसैले पानी डाइभर्ट गरिएको छ,” उनले भने ।
खानेपानी आयोजनाको संरचना क्षति हुनबाट रोक्न पानी बन्द गर्नुपरेको केयूकेएलले जिकिर गरेको छ । केयूकेएलले वर्षायाममा हरेक वर्ष पानी बन्द र पुनः खोल्ने गर्दै आएको छ ।
काठमाडौं उपत्यकामा क्षेत्रपाटी, महाँकाल, भक्तपुर, मध्यपुर थिमि, त्रिपुरेश्वर, बानेश्वर, कीर्तिपुर, महाराजगन्ज र ललितपुर गरी नौ शाखाबाट मेलम्ची पानी वितरण गरिन्छ ।
राईका अनुसार, केयूकेएलअन्तर्गत काठमाडौंमा एक लाख ८० हजार, ललितपुरमा ५६ हजार र भक्तपुरमा २० हजार धारा छन् ।
“उपत्यकामा मेलम्चीको १७ करोड लिटर पानी र सुन्दरीजल र अत्य स्रोत गरी थप दुई करोड लिटर पानी वितरण हुँदै आएको थियो । वर्षाले गर्दा मेलम्चीको पानी वितरण प्रभावित बनेको छ,” उनले भने ।
मेलम्चीको १७ करोड लिटर पानी वितरण हाल बन्द गरिएको उनले बताए । “अहिले मेलम्चीको १७ करोड लिटर पानी बन्द छ । उपत्यकाभित्रकै आन्तरिक स्रोतहरू (सुन्दरीजल, देवकी, वासुकि, भक्तपुर)बाट करिब नौ करोड लिटर पानी वितरण भइरहेको अवस्था हो । यो मात्रै वर्षायाममा बढ्छ,” उनले भने, “विभिन्न ठाउँमा मूल फुटेपछि थप पानी वितरण गर्न सकिन्छ ।”
रिबर्मा खोलाबाट सात/आठ करोड लिटर पानी ल्याइने
सरकारले सिन्धुपाल्चोकको रिबर्मा खोलाको पानी पनि मेलम्चीको पुरानै संरचनाबाट काठमाडौं उपत्यकामा ल्याउने तयारी गरेको छ । वर्षायाममा त्यहाँको सातदेखि आठ करोड लिटर पानी वितरण गर्न सकिने राईको भनाइ छ ।
“रिबर्मा खोलाको पानी ल्याउने तयारी छ । मन्त्रीज्यूले सातदेखि आड करोड लिटर पानी ल्याउन सकिने भन्नुभएको छ,” उनले भने, “सो पानी मेलम्ची खानेपानीकै संरचनाबाट काठमाडौंमा वितरण गर्ने तयारी हो ।”
रिबर्माको पानी वितरणका विषयमा यही असार २ गते खानेपानीमन्त्री प्रदीप यादवसहितको टोली अवलोकनका निम्ति मेलम्ची पुगेको थियो ।
२२ वर्षको प्रतीक्षापछि ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसको तीन महिनापछि मेलम्चीमा आएको बाढीले आयोजनामा क्षति पुर्याउँदा पानी वितरण रोकिएको थियो ।
याङ्ग्री र लार्के खोलाबाट पनि पानी ल्याउने सरकारको योजना छ । उपत्यकामा खानेपानीको दैनिक माग ४७ करोड लिटर छ ।