site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतको रुद्रपुरमा दुईसय नेपालीलाई बन्धक बनाइएको आशंका

काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित रुद्रपुरमा एक गिरोहले ठूलो संख्यामा नेपालीलाई बन्धक बनाएको खुलेको छ । 

गिरोहले आकर्षक रोजगारीको प्रलोभन देखाउँदै नेपालीलाई भारतको रुद्रपुर पुर्‍याएका हुन् । तिनले उल्टो बन्धक बनाउँदै रकम असुल गरेको खुलेपछि नेपालीको खोजी कार्य भइहेको छ । 

“ठूलो संख्यामा नेपालीलाई रुद्रपुरमा बन्धक बनाइएको सूचना हामीले प्राप्त गरेका छौँ । यो संख्या डेढ दुई सयको हाराहारीमा रहेको अनुमान छ,” भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले बाह्रखरीसँग भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सूचना प्राप्त भएलगत्तै स्थानीय गैरसरकारी संस्था र प्रहरीको सहयोगमा बन्धक बनाइएका नेपालीको खोजी कार्य सुरु गरिएको छ । 

“रोजगारीको बहानामा बोलाउँदै सम्बन्धित ठाउँमा पुर्‍याएपछि बैंक खाता खोल्न, आधार कार्ड बनाउन भन्दै घरबाट पैसा मगाउन लगाउने गरेको पाइएको छ,” उपनियोग प्रमुख थापाले भने ।

गिरोहले भनेबमोजिम पैसा मागेर नबुझाए उनीहरूमाथि कुटपिट समेत हुने गरेको छ ।  गिरोहले बन्धक बनाएका एक नेपाली भागेर स्थानीय एनजीओमार्फत दूतावास आउन सफल भएपछि यो सबै खुलेको थियो ।

“एक नेपालीलाई बन्धक बनाएपछि उसले नेपालमा रहेका आफ्ना साथीलाई बोलाएपछि मात्र उसलाई छोड्ने गरेका रहेछन्,” उपनियोग प्रमुख थापाले भने, ‘‘तिनले नेटवर्क बिजनेस जसरी चलाएका रहेछन् ।’’ 

यही असार ५ गते मात्र रुद्रपुर नजिकैको भारतीय सहर काशीपुरबाट यसैगरी बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूलाई स्थानीय एनजीओ र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार, आकर्षक जागिरको प्रलोभनमा नेपालबाट युवाहरू भारतको उत्तराखण्डको काशीपुरमा बोलाउँदै बन्दी बनाइएको थियो ।

उनीहरूलाई कुटपिट र यातना दिँदै रकम असुल गरेको सूचना पाएपछि नेपाली दूतावासले उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा असार ५ गते ३५ जना नेपालीहरूको सफलतापूर्वक उद्धार गरेको थियो । त्यसरी उद्धार गरिएकाहरू केही नेपाली युवा १० महिनादेखि बन्धक थिए । 

उक्त घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको उपनियोग प्रमुख थापाले बताए । 

उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया सकेपछि नेपाल पठाइने जानकारी उनले दिए ।

पीडितहरूसँग गिरोहले १२ हजार देखि ५० हजार भारतीय रुपैयाँसम्म उठाउने गरेको पीडितहरूले नयाँ दिल्लीस्थित नेपाली दूतवाासलाई बताएका छन् । उनीहरूलाई बनबासा र सुनौली बोर्डर हुँदै भारतको उत्तरखण्ड पुर्‍याइएको थियो । 

असार ५ गते उद्धार गरिएका नेपाली युवामा पाँचथरका यलम्बर चाम्लिङ, पाँचथरका सन्दिप लिम्बु, सुनसरीका अनुज कटवाल, दाङका आशिष चौधरी, उदयपुरका सुमन बुढाथोकी, उदयपुरका जंगबहादुर बि.क., उदयपुरका तिलक बि.क., कास्कीका विशाल बुढाथोकी, दाङका सन्दिप चौधरी, उदयपुरका रविन राना मगर, उदयपुरका राजकुमार मगर, उदयपुरका कुशल मगर छन् ।

उद्धार गरिएका अन्यमा सर्लाहीका सलाल पुलामी, स्याङ्जाका विवेक गोदार, स्याङ्जाका सुसन गोदार, सुनसरीका पुरन थारु, रुकुमका करण, सुनसरीका राजेश राई, तेह्रथुमका विरेन्द्र राई, तेह्रथुमका रोजन राई, पाँचथरका लक्ष्मण माझी, दाङका सन्तोष चौधरी, पाँचथरका जीवन माझी, पाँचथरका निरज लिम्बु, दाङ्का सुदिप चौधरी छन् । 

यस्तै, बाँकेका दिपेन्द्र थारु, बाँकेका अमित थारु, बाँकेका चन्द्र थारु, स्याङ्जाका कृष्ण अर्याल, बागलुङका अरुण घर्ती मगर, इलामका सौगात काफ्ले, डोटीका आयुष मल्ल, ताप्लेजुङका सौरभ लिम्बु, ताप्लेजुङका तारामान लिम्बु र सुनसरीका मिल्सन राईलाई पनि असार ५ गते उद्धार गरिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्