
काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा इरानका प्रतिनिधि अमिर सइद इरावानीले अमेरिकाले बनावटी र हास्यास्पद बहानामा इरानविरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् ।
न्यूयोर्कमा संयुक्त राष्ट्रसंघमा इरान–इजरायल द्वन्द्वमा अमेरिकी हस्तक्षेपबारे गरिएको छलफलमा इरावानीले इरानले नग्न अमेरिकी आक्रामणविरुद्ध आफ्नो रक्षा गर्ने अधिकार सुरक्षित राख्ने बताए ।
लामो वक्तव्यमा, इरावानीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अमेरिकाले अर्को महँगो, आधारहीन युद्धमा तानेको आरोप लगाए । अमेरिका र इजरायलका कार्यहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताए ।
इरानी प्रतिनिधिले इजरायलले आफ्नो देश परमाणु हतियार प्राप्त गर्नका लागि नजिक रहेको भनेर भ्रम फैल्याएको उनले बताए ।
उनले भने, “अन्तर्राष्ट्रिय संगठनहरू र केही पश्चिमी देशहरू, जस्तै फ्रान्स र बेलायतको मौनता, दोहोरो मापदण्ड र सहभागिता उत्तिकै निन्दनीय छ ।”
अमिर सइद इरावानीले आफ्नो सम्बोधनको अन्त्यमा परिषद्लाई अमेरिका र इजरायललाई ‘पूर्णरूपमा जवाफदेही बनाउन’ आग्रह गरे ।
आइतबारको सत्रमा, रूस, चीन र पाकिस्तानले १५ सदस्यीय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई मध्यपूर्वमा तत्काल र बिनासर्त युद्धविरामको लागि संकल्प अपनाउन आग्रह गरे ।
इजरायलका राजदूत ड्यानी ड्याननले सम्पूर्ण विश्वले ट्रम्पलाई इरानमाथि आक्रमण गरेकोमा धन्यवाद भन्नुपर्ने बताए ।
चीनका राजदूत फु कंगले बेइजिङले अमेरिकी आक्रमणको कडा निन्दा गरेको बताए ।
रूसका राजदूत भासिली नेबेन्ज्याले अमेरिकाले ‘पान्डोरा बाकस खोलेको’ र वाशिंगटन ‘स्पष्ट रूपमा कूटनीतिमा रुचि नभएको’ बताए ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी हमलाहरूले ‘पहिल्यै संकटमा रहेको क्षेत्रमा खतरनाक मोड’ ल्याएको बताए । उनले ‘विनाशको अर्को चक्र’ अन्त्य गर्न आह्वान गरे । बीबीसी