site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तीन जलविद्युत् आयोजना बनाउन बोलपत्र आह्वान

काठमाडौं । विद्युत् विकास विभागले तीन जलविद्युत् आयोजना प्रतिस्पर्धाबाट बनाउने भएको छ । कुल ११८ मेगावाट क्षमताका तीन आयोजना बनाउन नौ कम्पनी संक्षिप्त सूचीमा परेका छन् । 

विभागले ४७ मेगावाटको दूधकोसी–४, ३०.२ मेगावाटको लोअर होङगु र ४०.८ मेगावाटको संखुवाखोला बनाउन विभिन्न नौ विकासकर्ता कम्पनीलाई छनोट गरेको हो । 

४७ मेगावाटको दूधकोसी आयोजना बनाउन भियोमा हाइड्रोपावर लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड जेभी, सुपर मादी हाइड्रोपावर लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेड संक्षिप्त सूचीमा परेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

३०.२ मेगावाटको लोअर होङगु आयोजना बनाउन तीन कम्पनी संक्षिप्त सूचीमा परेका छन् । विभागका अनुसार स्वेतगंगा हाइड्रोपावर एन्ड कन्ष्ट्रक्सन लिमिटेड, रिभान्ता हाइड्रोपावर र माउन्टेन इनर्जी लिमिटेड जेभीका साथै सिंगटी हाइड्रो इनर्जी लिमिटेड छनोट भएका छन् । 

४०.८ मेगावाटको संखुवाखोला–१ आयोजनामा नोबेल ग्रुप अफ हाइड्रो इनर्जी लिमिटेड र पिपुल्स हाइड्रोपावर लिमिटेड जेभी, लिवर्टी इनर्जी लिमिटेड र ग्लोबल हाइड्रोपावर एसोसियट लिमिटेड रहेको विभागले जनाएको छ । 

यसअघि विभागले गत वैशाख २७ गते आफैँ निर्माण, सञ्चालन र हस्तान्तरण (बूट) मोडेलमा तीन आयोजना बनाउन विकासकर्ताबाट आशयपत्र मागेको थियो । 

तीन आयोजनामा विभिन्न नौ कम्पनीलाई संक्षिप्त सूचीमा समावेश गरिसकाले अब बोलपत्र आह्वान गर्ने भएको छ । बोलपत्रमा नौ कम्पनीले मात्र भाग लिन पाउने भएका छन् । 

आफूले प्रस्ताव गरेको आयोजनामा प्राविधिक र आर्थिक प्रस्तावको छुट्टाछुट्टै खाम शिलबन्दी गरी बोलपत्र पेस गर्नुपर्ने विभागले जानकारी दिएको छ । बोलपत्र पेस गर्ने अन्तिम दिन साउन २२ गतेलाई तोकिएको छ । 

विभागले बोलपत्रमा भाग लिने कम्पनीको प्रविधिक क्षमताको ४५, आर्थिक क्षमताको ३५ र अनुभवलाई २० अंक निर्धारण गरेको छ । 

प्राविधिक प्रस्तावमा ६० अंक प्राप्त गर्ने प्रस्तावकमध्ये र सबैभन्दा बढी अग्रिम रकम (अपफ्रन्ट फि) प्रस्ताव गर्ने कम्पनीलाई छनोट गर्ने विभागले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्