site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्राधिकरण भन्छ : बत्ती गयो ? ११५० मा फोन गर्नुस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत आपूर्तिमा समस्या आएपछि उपभोक्ताको गुनासो तत्काल सुन्न र समाधान दिन आठवटा प्रभावकारी कल सेन्टर सञ्चालनमा ल्याएको छ।

"बत्ती गयो, अब कहिले आउँछ?" भन्ने आम उपभोक्ताको प्रश्नको जवाफ दिन ११५० नम्बरमा कल गर्न सकिने व्यवस्था मिलाइएको छ। 

यस नम्बरमा डायल गरेपछि उपभोक्ताले आफू रहेको प्रदेशको कोड थिच्नुपर्नेछ। कोसीका लागि १, मधेस २, काठमाडौं उपत्यका ३, उपत्यका बाहेक वाग्मती ४, गण्डकी ५, लुम्बिनी ६, कर्णाली ७ र सुदूरपश्चिमका लागि ८ नम्बर थिचेपछि कल सम्बन्धित प्रदेशको कल सेन्टरमा पुग्छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कल सेन्टरका कर्मचारीले उपभोक्ताको गुनासो सम्बोधन गर्ने मात्र होइन, विद्युत आपूर्तिमा आएको समस्या र समाधान हुन सक्ने समयबारे समेत जानकारी दिन्छन् ।

यो सेवा सातै प्रदेशमा २४ घन्टा उपलब्ध छ । यदि कुनै कारणवश कल केन्द्रमा फोन लागेन भने ‘०’ मा डायल गरेर पनि गुनासो गर्न सकिने व्यवस्था गरिएको छ, जसले शनिबारबाहेक साताको ६ दिन काम गर्छ।

पहिले प्राधिकरणले सञ्चालन गरेको ‘नो–लाइट’ सेवा धेरै उपभोक्ताले एकैपटक फोन गर्दा प्रभावकारी हुन सकेको थिएन। अहिलेको नयाँ प्रणालीमा भने त्यो समस्या समाधान गरिएको छ।

प्राधिकरणका ग्राहक सेवा निर्देशनालयका निर्देशक टेकनाथ तिवारीका अनुसार अब उपभोक्तालाई मोबाइल वा इमेलमार्फत पनि विद्युत् आपूर्तिबारेको सूचना पठाउने तयारी भइरहेको छ।

स्मार्ट मिटर र अद्यावधिक विवरण

रत्नपार्क, बालाजुजस्ता स्थानमा स्मार्ट मिटर जडान भएकाले कल सेन्टरबाट सेवा अझ छिटो उपलब्ध हुने प्राधिकरणको दाबी छ। ग्राहकको विवरण अद्यावधिक गरी उनी कुन फिडरमा छन् भन्ने थाहा हुने र कुनै समस्या पर्दा एकैपटक सूचना पठाउन सक्ने तयारी भइरहेको तिवारीले बताए।

लोडसेडिङ होइन, अफवाह हो

‘बत्ती किन घरीघरी जान्छ’ भन्ने प्रश्न बारम्बार उठिरहँदा तिवारीले प्रष्ट पारे, “देशभित्रको उत्पादनले आन्तरिक माग मात्र नभई भारत र बंगलादेशमा समेत निर्यात भइरहेको बेला लोडसेडिङको सम्भावना नै छैन ।”

प्राधिकरणले सूचना प्रविधिको भरपुर उपयोग गर्दै उपभोक्ताको गुनासो छिटो सुन्ने र समाधान गर्ने प्रणालीलाई अझ सशक्त बनाउँदै लगेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्