site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलबाट फर्किन ८८५ नेपालीले टिपाए नाम

काठमाडौं । इजरायलमा रहेका नेपालीमध्ये ८८५ जनाले आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन नाम टिपाएका छन् । इजरायल र इरानबीच द्वन्द्व बढेपछि इजरायलबाट नेपाल फर्कन चाहने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

सरकारले इजरायलबाट फर्कन चाहने नेपालीलाई अनलाइनबाट नाम दर्ता गर्न भनेपछि हालसम्म ८८५ जना नेपालीले नाम टिपाएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“१७ जुनमा अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन सुरु गरिएको थियो । उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गर्नुभएको छ । विवरण दर्ता गर्ने क्रम बढ्दै गएको,” परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा भनिन् । 

परराष्ट्र मन्त्रालयले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई अत्यन्त गम्भीरताका साथ लिएको उनले बताइन् । “ती क्षेत्रहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ,” उनले भनिन् । 

नेपालले दुवै पक्षलाई वार्ताद्वारा समस्याको समाधान गर्न आह्वान गरेका उनले जनाइन् । ट्राभल एडभाइजरी जारी परराष्ट्रले इरान र इजरायलमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन भनिएको उनले बताइन् । 

नेपालीको सुरक्षाको विषयलाई लिएर आफूले दैनिक इजिप्ट, कतार, इजरायल, पाकिस्तानका लागि नेपाली राजदूतसँग पनि कुराकानी गरिरहेका उनले जनाइन् । 

“१८ जुनमा ती मुलुकहरूमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीहरूलाई अनलाइन भिसा उपलब्ध गराउनेलगायत काममा सहजीकरण गरिदिनका लागि खाडीस्थित सबै नेपाली नियोगहरूलाई निर्देशन दिइएको छ,” परराष्ट्रमन्त्री राणाले भनिन् । 

यस सन्दर्भमा जोर्डन सरकारले १९ जुन २०२५ मा एक नोट लेखी इजरायलबाट आफ्नो सीमामा आउने विदेशी नागरिकहरूलाई आवश्यक सहयोग गर्ने व्यहोरा उल्लेख गरेको उनले जानकारी दिइन् । 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्