site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मुख्यमन्त्रीको क्षेत्रमा एउटै योजनामा मुस्ताङको भन्दा बढी बजेट, कुन जिल्लालाई कति ?

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निर्वाचन क्षेत्रको एउटा योजनामा समग्र मुस्ताङको भन्दा बढी बजेट विनियोजन भएको पाइएको छ ।

गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३१ अर्ब ९७ करोडको बजेट ल्याएको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई पुँजीगततर्फ ११ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ । त्यसमध्ये धेरै बजेट जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयबाट कार्यान्वयन हुन्छन् । मन्त्रालय मातहतको पूर्वाधार विकास निर्देशनालय, यातायात व्यवस्था र सहरी विकास तथा भवन कार्यालयबाट कार्यान्वयन हुन्छन् ।

यिनै कार्यालयमध्ये पूर्वाधार विकास कार्यालय गोरखाले कार्यान्वयन गर्ने एउटा योजनालाई १९ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो योजना मुख्यमन्त्री पाण्डेको निर्वाचन क्षेत्रको एउटा योजना हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जुन आगामी आर्थिक वर्षमा मुस्ताङमा कार्यान्वयन हुने पूर्वाधारतर्फका सबै योजनाको भन्दा बढी रकम हो । मुख्यमन्त्रीको निर्वाचन क्षेत्रको एउटा योजनाका लागि १९ करोड ८२ लाख बजेट विनियोजन हुँदा पूर्वाधार कार्यालय मुस्ताङबाट आगामी आर्थिक वर्षमा १९ करोड ४१ लाख ६८ हजार रुपैयाँ बराबरका योजना कार्यान्वयन हुनेछन् । त्यसमा पनि क्रमागत योजना बढी छन् । नयाँ योजना दुई–तीनवटा मात्र थपिएको मुस्ताङबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य बताउँछन् ।

गोरखा २ (क) को मतदाता भए पनि ०७९ मा गठबन्धन बनेर चुनाव लड्ने क्रममा पाण्डे २ (ख) मा पुगेर चुनाव लडेका थिए । अजिरकोट, सिरान्चोक र बारपाक सुलिकोट गाउँपालिका उनको प्रदेशसभा निर्वाचन क्षेत्रमा पर्छ ।

गत वैशाख २६ मा १४.३ किलोमिटर सडक कालोपत्रे गरिएको यस योजनाको शिलान्यास पनि मुख्यमन्त्री पाण्डेले नै गरेका थिए ।

आगामी वर्षका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत बजेट ११ अर्ब ४८ करोड ३५ लाख रुपैयाँको ६५ प्रतिशत पुँजीगत बजेट पूर्वाधार कार्यालयबाट नै कार्यान्वय हुनेछन् ।

कुन जिल्लालाई कति बजेट ?
मन्त्रालयले आगामी आर्थिक वर्षमा पूर्वाधारमध्ये सबैभन्दा बढी बजेट कास्कीमा विनियोजन गरेको छ । यो सत्तासाझेदार दल नेकपा (एमाले) संसदीय दलका नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीको पनि जिल्ला हो ।

आगामी आर्थिक वर्षमा कास्कीमा १६९ योजनालाई एक अर्ब ८४ करोड २२ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
दोस्रोमा मुख्यमन्त्री पाण्डेको जिल्लामा पूर्वाधारको बजेट विनियोजन भएको छ । गोरखामा १५४ योजनामा एक अर्ब ५९ करोड ७६ लाख ६ हजार रुपैयाँ बराबरका योजना कार्यान्वयन हुनेछन् ।

तेस्रोमा स्याङजा जिल्ला छ । जहाँ, १०९ योजनाका लागि ९६ करोड आठ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । 

आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङको गृहजिल्ला लमजुङमा पूर्वाधार कार्यालय मातहत ९० करोड ५४ लाखका योजना कार्यान्वयन हुनेछन् । योजना संख्या ८२ हुन आउँछ ।

तनहुँलाई ८६ करोड २५ लाख २४ हजार बजेट विनियोजन गरिएको छ । यस रकमबाट ९४ वटा योजना कार्यान्वयन हुनेछन् ।

वार्षिक विकास कार्यक्रम हेरेर बागलुङ सन्तुष्ट छैन । शुक्रबार प्रदेशसभा बैठकमा त बागलुङका प्रदेशसभा सदस्य नै अनुपस्थित भएका थिए । आगामी वर्ष बाग्लुङमा ९४ वटा योजनालाई ७८ करोड ६४ लाख छुट्याइएको छ ।

म्याग्दीमा योजना थोरै भए पनि ६० करोड ८९ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ । म्याग्दीमा ३२ वटा योजनाको लागि यो रकम विनियोजन गरिएको हो ।

नवलपुरमा ७० योजनालाई ५८ करोड ९० लाख ४८ हजार छुट्याइएको छ ।

पर्वतमा ५७ करोड २२ लाख बजेटबाट ६३ योजना कार्यान्वयन हुनेछन् । मनाङमा १८ योजनाका लागि २० करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

मुस्ताङमा १९ करोड ४१ लाख ६८ हजारमा २३ वटा योजना कार्यान्वयन हुनेछन् ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्