
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालको राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमा आँच आउन नदिन आफूहरू सजग रहेको बताएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले बदलिँदो परिस्थितिसँगै नेपालको राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमा आँच आउन नदिन परराष्ट्र मन्त्रालय सजग रहेको बताइन् ।
“बदलिँदो परिस्थितिसँगै नेपालको राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमा आँच आउन नदिन परराष्ट्र मन्त्रालय सजग रहेको र आवश्यकतानुसार सम्बन्धित सरोकारवाला मन्त्रालय र निकायसँग नियमित सम्पर्क र समन्वयमा रहेको छ,” परराष्ट्रमन्त्री राणाले भनिन् ।
विश्वका विभिन्न मुलुकबीचको द्वन्द्व र यसको सम्भावित प्रभावका सन्दर्भमा मन्त्रालयले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको उनले बताइन् ।
विशेषगरी तनावग्रस्त मुलुकमा रहेका नेपालीको अवस्था बुझ्ने र आवश्यकतानुसार उद्धार तथा नेपाल फिर्ती कार्यका लागि सम्बन्धित मुलुक हेर्ने नेपाली नियोगलगायत अन्य मित्रराष्ट्रसँग आवश्यकतानुसार समन्वय र सहकार्य भइरहेको उनले जनाइन् ।
“परराष्ट्र सम्बन्धमा राष्ट्रिय सहमति सहित नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा सरकार प्रतिबद्ध रहेको छ,” परराष्ट्रमन्त्री राणाले भनिन् ।