
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक सुविधामा ‘अपरेसन मिडनाइट ह्यामर’ भनिएका गोप्य हमला गर्न आदेश दिए । हमलापछि पेन्टागनमा भएको पत्रकार सम्मेलनमा अमेरिकी सेनाका उच्च अधिकारी जनरल ड्यान केनले यसको विस्तृत विवरण दिए ।
अमेरिकाको मिजौरीको ह्वाइटम्यान एयर फोर्स बेसबाट सातवटा बी–२ स्टेल्थ बमवर्षक विमान स्थानीय समयअनुसार राति १२ः०१ बजे उडे । यी विमानहरूले १८ घण्टासम्म आकाशमा इन्धन भर्दै र मानिसलाई झुक्याउँदै इरानको फोर्डो, नटान्ज र इस्फाहानका आणविक संरचनालाई निसाना बनाए ।
यी विमानले जीबीयू–५७ बंकर बस्टर बम बोकेका थिए, जुन १८ मिटर कंक्रिट वा ६१ मिटर माटो छेडेर भित्र जान सक्छ । इरानको ध्यान भड्काउन अमेरिकाले प्रशान्त महासागरतर्फ बमवर्षक गएको भ्रम सिर्जना गर्यो । तर, वास्तवमा बी–२ विमान पूर्वतर्फ उडेका थिए ।
मध्यपूर्वमा साँझ ५ बजे अमेरिकी समयअनुसार पुग्दा यी विमानलाई सुरक्षाका लागि अन्य विमानले साथ दिएका थिए । तर, इरानी हवाई रक्षा निष्क्रिय रह्यो, जसमा इजरायलले सहयोग गर्यो ।
अमेरिकी समयअनुसार साँझ ६ः४० बजे पहिलो विमानले फोर्डो आणविक केन्द्रमा दुईवटा ठूला बम (म्यसिभ अर्डिनान्स पेनेट्रटर–एमओपी) खसाल्यो । कुल १४ एमओपी बम फोर्डो र नटान्जमा खसालिएको थियो । एकै समयमा, अरब सागरमा रहेको अमेरिकी पनडुब्बीबाट दुई दर्जनभन्दा बढी टोमाहक क्रुज मिसाइल इस्फाहानमा प्रहार गरिएको थियो ।
यस हमलामा ७५ सटिक हतियार र १२५ विमान प्रयोग भएको थियो भने २५ मिनेटमा सम्पन्न भएको थियो । विमानहरू अमेरिकी समयअनुसार साँझ ७ः३० बजे इरानबाट फर्किए । अमेरिकाले इरानको आणविक कार्यक्रम ध्वस्त भएको दाबी गरेको छ । तर, इरानले क्षतिलाई कम महत्त्व दिएको छ । वास्तविक क्षतिबारे अझै स्पष्ट भएको छैन । किनभने उपग्रह तस्बिरहरूले हमलाको समय र भूमिगत क्षति पुष्टि गर्न सक्दैन ।
न्यू अमेरिकन सेक्युरिटीका रक्षाविज्ञ डा. स्टेसी पेटीजनले अमेरिकी हमलाले इरानको आणविक महत्त्वाकांक्षालाई दीर्घकालसम्म रोक्नेमा शंका व्यक्त गरेका छन् ।
बीबीसीबाट ।