site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टेक एन्ड पेमा देउवाको प्रवेश, अर्थमन्त्रीसँग भने– गठबन्धनमा समस्या ल्याउने काम नगरौँ

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले पत्तोसमेत नपाइ बजेटमा प्रवेश पाएको ‘टेक एन्ड पे’ सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवाले समेत चासो राखेका छन् ।

कांग्रेस र एमालेका सांसदहरुबीचमा नै यही विषयलाई लिएर विवाद बढ्न लागेपछि कांग्रेस सभापति देउवाले अर्थमन्त्री विष्णु पौडेललाई गठबन्धनमा समस्या आउने व्यवस्था नराख्न सुझाव दिएका हुन् ।

ऊर्जामन्त्री खड्काले ‘टाइप मिस्टेक’ भन्दै ‘टेक अर पे’ नै भएको बताएको भोलिपल्ट अर्थमन्त्रीले संसदमै ‘टेक एन्ड पे’ नै भएको र फिर्ता नहुने बताएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसयता यही विषयलाई लिएर विवाद उत्पन्न हुँदै आएको छ ।

बालुवाटार बैठकमा कांग्रेसले ‘टेक एन्ड पे’लाई समर्थन गर्न नसकिने भन्दै सच्याउन आग्रह गरेको थियो । 

त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद टुंग्याउने जिम्मा ऊर्जामन्त्री र अर्थमन्त्रीलाई तोकेका थिए । तर, अर्थमन्त्री ऊर्जामन्त्रीसँग सहमत नभएर बजेटमा रहेको ‘टेक एन्ड पे’ पारित गराउने लबिइङमा लागेपछि सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीलाई फोन गरेका थिए । 

फोनमा उनले ‘टेक एन्ड पे’ फिर्ता गर्न भनेका थिए । गठबन्धनलाई समस्या पार्ने विषय नराख्न पनि उनको सुझाव थियो ।

“टेक एन्ड पेले लगानीकर्तालाई निरुत्साहित गर्छ । प्राधिकरणले विद्युत खरिद सम्झौता पीपीए नगर्न पाउँछ । तर, गरिसकेपछि किन्दिन भन्न पाउँदैन,” पूर्व ऊर्जामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बाह्रखरीसँग भने, “लगानीकर्तालाई निरुन्तसाहित गर्ने नीति लिनु हुँदैन भन्नेमा हामी एकमत छौं ।” 

डा. महतले यसको विषयमा पनि सभापति देउवाले अर्थमन्त्री पौडेललाई सचेत गराएको जानकारी दिए ।

“लगानीकर्ताहरुलाई नै निरुत्साहित गर्ने कुरा मान्य हुँदैन भनेर भन्नुभएको छ,” महतले भने, “गठबन्धनलाई असर गर्छ भनेर नै भन्नुभएको छैन । तर, समझदारी भएन भने असर पर्न सक्छ भन्ने नै हो ।” 
 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्