
काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अराजकतालाई मलजल गर्ने गरी असंसदीय काम गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद गैरेले रास्वपाले देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गरिरहेको आरोप लगाएका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा सिंगो नेपाल र नेपाली जनताको, संसद्को र सबै न्यायप्रेमीको गम्भीर ध्यानाकर्षण भएको पनि बताए ।
"अहिले संसद् बहिष्कार गरेर जानुभएका माननीयज्यूहरूले बुझ्नुभएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गरेको छानबिन प्रक्रियालाई कुनै असर नपर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धन आयोगले स्पष्टतापूर्वक छानबिन गरिरहेको छ," उनले भने ।
गैरैले अगाडि थपे, "त्यसमा नेपाल सरकारले सहयोग गरिरहेको छ भन्ने कुरा पनि त्यो वक्तव्यबाट स्पष्ट हुन्छ । आगामी दिनमा थप व्यवस्थित गर्ने, आगामी दिनमा यस्ता काम नदोहोरिनका लागि काम गर्नुपर्छ । देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी यो काम भएको छ ।"