site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीले भन्यो– ट्राभल एजेन्सीदेखि कूटनीतिक नियोगका पदाधिकारीसम्म छानबिन हुनुपर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको समितिले गम्भीर ढंगले काम गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा पुनले ट्राभल एजेन्सी, म्यानपावर, एयरलाइन्सदेखि कूटनीतिक नियोगका पदाधिकारीमाथि समेत छानबिन गर्नुपर्ने बताए ।

“भिजिट भिसासम्बन्धी देखिएका समस्याहरूलाई अध्ययन गर्न, छानबिन गर्न एकातिर संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ, त्यो निष्पक्ष, पारदर्शीरूपले प्रमाण र तथ्य संगत होस् भन्ने हाम्रो दलको अपेक्षा रहेको छ," उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अगाडि थपे, "अर्को कुरा, त्यसको कार्यक्षेत्र भन्दा बाहिर पनि कैयौँ विषयहरू छन् । यस्ता प्रकरणहरूमा ट्राभल एजेन्सी, म्यानपावर, एयरलाइन्सहरू कैयौँ सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय नियोग त्यसमा रहेका पदाधिकारीहरू पनि संलग्न छन् भन्ने मिडियाहरूमा आएको छ । यी सबै कुराहरूको उच्चस्तरीय छानबिन समिति अध्ययन र छानबिन गर्नेछ ।"

उनले आफूहरूले निगरानी र खबरदारी गरिरहने पनि बताए । "हाम्रो अपेक्षा छ । यसमा गम्भीर ढंगले छानबिन भएन र अविश्वासहरू पैदा भए निश्चय पनि सार्वजनिकरूपमा जनताले निगरानी गरिरहेको छ । आलोचना हुन्छ । प्रमुख प्रतिपक्षी दलको तर्फबाट पनि निगरानी, खबरदारी गरिराख्ने छौँ," उनले भने ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्