
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको छानबिनका निम्ति गठित समितिका संयोजक शंकरदास वैरागीमाथि गम्भीर प्रश्न उठाएका छन् । मंगलबार (असार १०) प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले गृहमन्त्री रमेश लेखकले ‘ब्युरोक्र्याटिक’ समाधान मात्र ल्याएको बताए ।
“क्याबिनेट चल्ला चल्दै हाम्रो प्रवक्ताले एउटा ट्विट गर्नुभएको थियो–शंकरदास किन ? तीर्थ भट्टराईकै नेतृत्वमा सुनपानी छर्किने समिति बनाए भइहाल्यो नि भनेर,” डा. वाग्लेले भने, “गृहमन्त्रीका कुरा शालीनतापूर्वक हामीले सुन्यौँ । उहाँले ब्युरोक्र्याटिक सोलुसन लिएर आउनुभयो– सहजीकरण गरिनेछ, सजिलो बनाइनेछ । उहाँले नियमित रूपमा गर्नैपर्ने कामहरू म फेरि गर्छु भनेर भन्नुभयो ।”
उनले भिजिट भिसा प्रकरण समस्या गम्भीर कुशासन र राजनीतिक प्रकृत्तिको रहेको बताए । लुट, संगठित भ्रष्टाचार र मानव तस्करीको छानबिन गर्न समिति आवश्यक भएको उनले औँल्याए ।
“शंकरदास वैरागीसँग मेरो कुनै व्यक्तिगत आग्रह छैन । विगत १० वर्षदेखि उहाँ स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ । सात वर्ष पराराष्ट्रसचिव बन्नुभयो । एक वर्ष मुख्यसचिव बन्नुभयो । र, रहस्यमय ढंगले उहाँको बहिर्गमन हुन्छ । राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ । त्यसपछि एकदुई दिनमा निवृत्त हुन लागेका अर्का मुख्यसचिव आउनुहुन्छ । त्योक्रममा दशौँ करोड, अर्बौंको टेलिकम माफियाबाट रचिएको घोटलाहरू भएको छ,” डा. वाग्लेले भने, “त्यसकारण शंकरदास वैरागी अहिलेका निगाहप्राप्त नेताहरूको गुडबुक्समा रहनुपर्यो । स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुन् । त्यसकारण यो जिम्मेवारी उहाँलाई दिनु हुन्न भन्ने हाम्रो पार्टीको मत छ ।”
उनले वैरागी स्वयं सक्षम निकायको ‘रडार’मा रहेका बताए । हालसम्म भ्रष्टाचारसहितका कुनै आरोप नखेपेका वैरागी राज्यका सक्षम निकायको रडारमा रहेका भनेर उनले रहस्यपूर्ण अभिव्यक्ति दिए । “उहाँ स्वयम् राज्यका सक्षम निकायहरूको रडारमा हुनुहुन्छ । सक्षम निकायको रडारमा रहेका व्यक्तिहरूले कसको छानविन गर्ने ?,” उनले प्रश्न गरे ।
डा. वाग्लेले गृहमन्त्रीमाथि छानबिन गरिनुपर्नेमा उनले नै अनुसन्धान अधिकारी रोजेको आरोप लगाए । “गृहमन्त्री स्वयं सन्देहको घेरामा हुनुहुन्छ । व्यक्तिगत रूपमा उहाँप्रति पनि मेरो कुनै आग्रह छैन । मलाई मन पर्ने व्यक्ति हुनुहुन्छ । उहाँ यसमा दोषी नहुनुहोस् भन्ने मेरो भित्री चाहना पनि छ,” उनले भने, “तर, परोक्ष संलग्नता उहाँको देखिइसकेको छ । प्रत्यक्ष संरक्षण पनि देखिइसकेको छ ।”
उनले गृहमन्त्री आफैँले व्यक्ति छानेको भनेर गर्वका साथ बताएका विषयमा पनि प्रश्न उठाए । यस्तो हुन्छ भन्ने आफूहरूलाई तीन हप्ताअघि नै थाहा भएको उनले जिकिर गरे । “गृहमन्त्रीले गर्वका साथ भन्नुभयो, मेरै प्रस्तावमा यो कमिटी गठन गरेको भन्नुभयो । अब के आरोपीले नै अनुसन्धान अधिकृत आफैँ छान्दै जाने हो ? यस्तो सिस्टममा गयौँ हामी ? यो गलत छ,” उनले भने, “यही हुन्छ भन्ने हामीलाई तीन हप्ताअगाडि नै थाहा थियो । ‘हामी नयाँ हौँ, तर बेवकुफ होइनौँ’ भनेको त्यसैले हो ।”
उनले संसदीय समिति वा उच्चस्तरीय आयोग मात्र समाधान हुने बताए । “संसदीय समिति – जसले नीतिगत, प्रणालीगत सुधारमा गहिरो छानबिन गर्न सकोस् वा जाँचबुझ आयोग ऐनअनुसार बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनोस् भन्ने कारण यही हो,” उनले भने ।
वैरागी र तीर्थ भट्टराई एउटै ‘कोलोनी’मा बस्ने मित्र भएको उनले बताए । भट्टराईमाथि वैरागीबाट छानबिन हुन नसक्ने उनको दलिल थियो । “तीर्थ भट्टराई त उहाँ (शंकरदास वैरागी)को मर्निङ वाक गर्ने पार्टनर हो, अर्किट कोलोनीमा,” डा. वाग्लेले भने, “कसरी सक्नुहुन्छ छानबिन गर्न ? त्यसकारण यो कुरा गम्भीर छ ।”
उनले थप बोल्ने प्रयास गर्दागर्दै दिएको समय सकिएपछि माइक काटिएको थियो ।