
काठमाडौं । अमेरिकाले आक्रमण गर्नुअघि नै इरानले युरेनियम स्थानान्तरण गरेको हुन सक्ने संकेत दिएको न्युयोर्क टाइम्सले जनाएको छ । विभिन्न उपग्रह तस्बिर र इजरायली गुप्तचर जानकारीका आधारमा इरानले १० वटा आणविक बम बनाउन पुग्ने ४०० किलोग्राम सुधारिएको युरेनियम स्थानान्तरण गरेको हुन सक्ने समाचारमा उल्लेख छ ।
अमेरिकी र इजरायली अधिकारीहरूले अमेरिकी बी–२ बमवर्षक विमानले प्रमुख आणविकस्थलमा आक्रमण गर्नु केही दिनअघि नै इरानले स्थानान्तरण गरेको हुन सक्ने बताएको न्युयोर्क टाइम्सले जनाएको छ ।
आक्रमणअघिका उपग्रह तस्बिरमा फोर्डो केन्द्रबाहिर ट्रकका देखिएका थिए । तर, आक्रमणपछिका तस्बिरमा ती गायब थिए ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)का निरीक्षकहरूले द्वन्द्व सुरु हुनुभन्दा एक हप्ताअघि ६० प्रतिशत सुधारिएको युरेनियम अन्तिमपटक देखेका थिए । आईएईए प्रमुख राफेल ग्रोसीले सीएनएनलाई भनेका छन्, “इरानले यो सामग्री सुरक्षित गरेको कुरा लुकाएको छैन ।”
स्थानान्तरण गरिएको हो भन्ने प्रश्नमा उनले भने, “हो ।”
ट्रम्पको दाबी : आणविक कार्यक्रम नष्ट
आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोर्डो, नातान्ज र इस्फाहानमा बंकर–बस्टर बम प्रहारपछि इरानको आणविक कार्यक्रम पूर्णरूपमा नष्ट भएको दाबी गरेका थिए । अमेरिकाले चलाएको ३७ घण्टाको मिसनमा सात बी–२ स्पिरिट बमवर्षक र टोमाहक क्रुज मिसाइल प्रयोग गरिएको थियो ।
तर, २४ घण्टाभित्रै अमरिकी वरिष्ठ अधिकारीले नै ट्रम्पको दाबीलाई खारेज गर्ने खालका अभिव्यक्ति दिए । उपराष्ट्रपति जेडी भान्सले एबीसीको ‘दिस विक’ कार्यक्रममा भनेका थिए, “हामी आगामी हप्ताहरूमा त्यो युरेनियमबारे केही गर्नेछौँ ।”
उनले '९ वा १० आणविक हतियार बनाउन पर्याप्त' मानिने युरेनियम फेला नपरेको बताएका थिए ।
म्याक्सार टेक्नोलोजीका उपग्रह तस्बिरमा आक्रमणअघि फोर्डो आणविक केन्द्रबाहिर १६ ट्रक देखिएका थिए । यो केन्द्र पहाडभित्र जमिनभित्र गहिरो स्थानमा छ । यसलाई मिसाइल आक्रमणबाट सुरक्षित मानिन्छ ।
इजरायली अधिकारीहरू फोर्डोको युरेनियम तिनै ट्रकमा लोड गरेर लगिएको विश्वास गर्छन् । न्युयोर्क टाइम्सका अनुसार, ट्रम्पको सैन्य कारबाहीको धम्कीबाट सचेत इरानले इस्फाहान नजिकको आणविक परिसरमा साना सवारीमा राख्न सकिने क्यास्कमा भण्डारण गरिएको ४०० किलोग्राम (लगभग ८८० पाउन्ड) ६० प्रतिशत शुद्धताको युरेनियम हटाएको थियो ।
युरेनियम रहेको हालको स्थान अज्ञात छ । अर्कोतिर तेहरानले यसबारे पुष्टि वा खण्डन केही पनि गरेको छैन ।
युद्धकालमा कुनै निरीक्षण भएन
संयुक्त राष्ट्रको आणविक निगरानी निकायका प्रमुख ग्रोसीले इजरायलले बमबारी सुरु गर्नुअघि आईएईए टोलीले अन्तिमपटक युरेनियम देखेको बताए । युद्धकालमा इरानी अधिकारीहरूले सबै निरीक्षण स्थगित गरेका थिए । ग्रोसीले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई चेतावनी दिँदै निरन्तर सैन्य तनावले यो अपरिहार्य काममा ढिलाइ र कूटनीतिक समाधानको सम्भावना कम हुने बताए ।
नष्ट सुविधाभित्रै हुन सक्छ युरेनियम !
अमेरिकी रक्षा सचिव पिट हेग्सेथ र जनरल ड्यान केनले तीनवटै आणविकस्थलमा गम्भीर क्षति र विनाश भएको दाबी गरे। उपग्रह तस्बिरमा फोर्डोको पहाडमा ३० हजार पाउन्ड बमले बनाएका धेरै खाडल देखिन्छन् । तर, विश्लेषकहरूले युरेनियम सुधार्ने प्रमुख केन्द्रमा अझै भित्र हुन सक्ने बताएका छन् । यी मेसिनहरू भारी, स्थिर र हटाउन गाह्रो हुन्छ ।
एक अमेरिकी अधिकारीले छोटो समयमै इरानले सबै प्रणाली आणविक केन्द्रबाट हटाउन सम्भव नभएको बताए ।
नातान्जमा भने बमबारीले विद्युत प्रणालीमा क्षति पुर्याएकाले धेरैजसो सेन्ट्रिफ्यूजहरू नष्ट भएको हुन सक्ने समाचारमा उल्लेख छ ।
इरानको आणविक महत्त्वाकांक्षामा अवरोध
पूर्वपेन्टागन र सीआईए अधिकारी मिक मुलरोयले भने, “प्रयोग गरिएको हतियारको प्रकार र मात्राले इरानको आणविक हतियार कार्यक्रमलाई दुईदेखि पाँच वर्ष पछाडि धकेल्ने सम्भावना छ ।”
तैपनि, इरानले नातान्जका लागि गहिरो भूमिगत विकल्प बनाउन थालिसकेको बताइन्छ ।
इरानमाथि लामो समयदेखिको शंका भए पनि उसले सक्रियरूपमा आणविक हतियार बनाइरहेको नयाँ सार्वजनिक प्रमाण फेला परेको छैन । इजरायल र अमेरिकाले तेहरानले हतियार निर्माण पुनः सुरु गरेको दाबी गर्छन् । तर, इरानले यो अस्वीकार गर्छ ।
द टाइम्स अफ इन्डियाबाट ।