
काठमाडौं । भियतनामले आठ प्रकारका अपराधका निम्ति मृत्युदण्डको सजाय हटाएको छ । यसले देशको सबैभन्दा ठूलो वित्तीय ठगी मुद्दामा जेलमा रहेका एक रियल इस्टेट ताइकुनले ज्यान बचाउन सक्ने जनाइएको छ ।
यो कानुनी सुधारअन्तर्गत सरकारविरुद्ध विद्रोह गर्ने प्रयास, राज्यको पूर्वाधारमा क्षति पुर्याउने, नक्कली औषधि बनाउने र बेच्ने, युद्ध, जासुसी, लागुपदार्थ तस्करी, हिनामिना र घुस लिनेजस्ता आठ अपराधका निम्ति मृत्युदण्ड हटाइएको छ । भियतनामको संसद्ले बुधबार योसम्बन्धी एक कानुन पारित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
भियतनामको सबैभन्दा ठूलो वित्तीय ठगी मुद्दामा मृत्युदण्ड तोकिएकी ट्रुओङ माइ लानलाई कानुनमा गरिएको परिवर्तनपछि सजाय घटाउन योग्य हुने उनका वकिलले बिहीबार बताएका छन् ।
६७ वर्षीया रियल इस्टेट कम्पनी भान थिन्ह फाटकी अध्यक्षले १२.५ बिलियन डलरबराबरको ठगी आरोपमा मृत्युदण्डको सामना गरिरहेकी छन् । यो रकम सन् २०२२ को भियतनामको जीडीपीको करिब तीन प्रतिशत हो । नयाँ नियमानुसार उनी अब मृत्युदण्डबाट छुटका निम्ति योग्य हुने उनका वकिल फान मिन्ह होआङले द एसोसिएटेड प्रेसलाई बताए ।