
काठमाडौं । पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल–नासरसँगको सम्झौता नवीकरण गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रोनाल्डो क्लबसँगको सम्झौता दुई वर्ष लम्बाउन सहमत भएका छन् । नयाँ सम्झौताअनुसार, रोनाल्डो सन् २०२७ सम्म अल नासरमै रहनेछन् ।
४० वर्षीय पोर्चुगिच कप्तान रोनाल्डोको सम्झौता जुनको अन्त्यमा समाप्त हुँदैछ । गत महिना रोनाल्डोले सामाजिक सञ्जालमार्फत क्लब छाड्ने संकेत दिएका थिए । तर, अहिले उनी क्लबमै रहन सहमत भएका छन् ।
दुई साताअघि पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका रोनाल्डो सन् २०२३ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अल नासर पुगेका थिए ।
उनले साउदी क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन् । रोनाल्डोले गत सिजन ४१ खेलमा ३५ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।