site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दैनिक एउटा स्याउ खानु स्वास्थ्यका लागि राम्रो हो ?

काठमाडौं । ‘हरेक दिन एउटा स्याउ खानुहोस् र डाक्टरबाट टाढा रहनुहोस्,’ स्याउबारेको यो भनाइ भनाइ निकै प्रचलित छ । विश्वभर स्याउलाई धेरै मन पराइन्छ । विभिन्न रङ र स्वादमा पाइने स्याउले हामीलाई स्वस्थ रहन मदत गर्ने बताइन्छ । हरेक वर्ष विश्वमा १० करोड टन स्याउ उत्पादन हुन्छ ।

हरेक दिन एउटा स्याउ खाएर डाक्टरलाई टाढा राख्ने भनाइ सन् १८६६ मा वेल्समा लेखिएको एक भनाइबाट आएको हो, जसमा सुत्नुअघि एक स्याउ खाए कुनै डाक्टरलाई आम्दानीबाट वञ्चित गर्न सक्ने भनिएको छ । तर, के यो प्रचलित भनाइमा सत्यता छ ? के अन्य फलफूलको तुलनामा स्याउ स्वास्थ्यका निम्ति बढी फाइदाजनक छ ?

सर्वप्रथम, स्याउमा कस्ता पोषक तत्वहरू हुन्छन् भनेर जानौँ । स्याउ फ्लेभानोल्ससहित फाइटोकेमिकल्सको राम्रो स्रोत हो । यसका धेरै फाइदाहरू छन् । यसले मुटुलाई स्वस्थ राख्न र तौल घटाउन मदत गर्छ । यी तत्वहरूले हृदय रोगको जोखिमलाई कम गर्छ भन्ने स्पष्ट छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्याउ स्वास्थ्यका लागि किन राम्रो मानिन्छ ?
स्याउमा धेरै प्रकारका पोलिफेनोल्स हुन्छन्, जसमा एन्थोसायनिन्स पनि समावेश छ । यसले स्याउको बोक्रालाई रातो रङ दिन्छ र मुटुलाई स्वस्थ राख्न पनि मदत गर्छ । फ्लोरिड्जिन अर्को पोलिफेनोल हो जुन स्याउमा पाइन्छ । यो रगतमा ग्लुकोजको स्तर नियन्त्रण गर्न सहयोगी पाइएको छ ।

स्याउमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसमा पेक्टिन सबैभन्दा बढी हुन्छ । यो फाइबरले रगतमा लो डेन्सिटी लिपोप्रोटिन्स (एलडीएल– जसलाई खराब कोलेस्ट्रोल भनिन्छ)को मात्रा कम गर्छ । हामीले खानाबाट प्राप्त गर्ने चिनी र बोसोलाई पेक्टिनले कम गर्छ । यसरी यसले रगतमा ग्लुकोजको स्तरलाई स्थिर राख्छ । स्याउमा रहेका यी पोषक तत्वहरू शरीरलाई स्वस्थ राख्न प्रभावकारी हुन्छन् ।

सन् २०१७ मा गरिएको पाँच अध्ययनको समीक्षाले नियमित स्याउ खानाले टाइप–२ मधुमेह हुने जोखिम १८ प्रतिशतसम्म कम हुन सक्ने देखाएको थियो । सन् २०२२ मा १८ अध्ययनको अर्को समीक्षाका अनुसार, धेरै स्याउ खाने वा स्याउको जुस पिउनाले कोलेस्ट्रोलको स्तर कम हुन सक्छ । तर, यो तब मात्र प्रभावकारी हुन्छ जब तपाईं यो बानीलाई एक हप्ताभन्दा बढी समयसम्म कायम राख्नुहुन्छ । 

सामान्यतया पौष्टिक खानाले क्यान्सरको जोखिम ४० प्रतिशतसम्म कम गर्छ । पौष्टिक खानामा पाइने बायोएक्टिभ कम्पाउन्ड र फाइटोकेमिकल्सले यो जोखिम कम गर्न मदत गर्छ । तर, ‘ठूलो प्रश्न’ यो छ कि के स्याउ अन्य बोटबिरुवाबाट प्राप्त हुने खाद्य पदार्थहरूभन्दा राम्रो छ ?

अमेरिकाको मिडिल टेनेसी विश्वविद्यालयमा पोषण र खाद्य विज्ञानकी प्राध्यापक जेनेट कोल्सन भन्छिन्, “स्याउमा धेरै भिटामिन सी हुँदैन । आइरन र क्याल्सियम पनि धेरै हुँदैन । तर यसमा धेरै यस्ता तत्वहरू छन् जसले राम्रो स्वास्थ्य कायम राख्न प्रभावकारी हुन्छन् ।”

इटालीको भेरोना विश्वविद्यालयको बोटबिरुवा जीवविज्ञान विभागकी सहप्राध्यापक फ्लाभिया गूजो स्याउमा धेरै यस्ता कम्पाउन्डहरू भएको जुन धेरै फलफूल र तरकारीहरूमा पनि समान रूपमा पाइन्छन् । यीमध्ये फाइदाजनक पोलिफेनोल्स पनि समावेश भएको बताउँछिन् ।

पोलिफेनोल्स शक्तिशाली एन्टिअक्सिडेन्ट अणुहरू हुन् । यसले हाम्रो शरीरमा एन्टीअक्सिडेन्ट र फ्री रेडिकल्सको अनुपातलाई सन्तुलनमा राख्न मदत गर्छन् । फ्री रेडिकल्स तीव्र प्रतिक्रिया गर्ने र कोशिकाहरूलाई हानि पुर्‍याउने अक्सिजन अणुहरू हुन् । फ्री रेडिकल्सलाई नियन्त्रणमा राखेर हामी लामो समयसम्म क्यान्सर र हृदय रोगलाई बढ्नबाट रोक्न सक्छौँ । 

स्याउले यी समस्याहरू कम गर्न सक्छ
केही अनुसन्धानकर्ताहरू स्याउमा अन्य फलफूलको तुलनामा एन्टीअक्सिडेन्ट धेरै हुने बताउँछन् । एन्टअक्सिडेन्टको हिसाबले यो दोस्रो नम्बरको फल हो । स्याउ फेनोलिक कम्पाउन्ड्सको पनि राम्रो स्रोत हो, जुन फाइटोकेमिकलको अर्को रूप हो । 

एक अध्ययनले अमेरिकाका मानिसहरूले आफ्नो कुल फेनोलिक आवश्यकताको २० प्रतिशत स्याउबाट पूरा गर्ने देखाएको छ । अनुसन्धानका अनुसार, स्याउमा रहेका फेनोलिक कम्पाउन्ड्सले हृदय रोग, क्यान्सर, दम, मधुमेह र मोटोपन जस्ता समस्याहरूलाई कम गर्न सक्छन् ।

वैज्ञानिकहरूले अन्य फलफूलको तुलनामा स्याउ खान सुझाव दिनुको कारण यसमा हुने शक्तिशाली पोलिफेनोल्स र एन्टिअक्सिडेन्टहरू नभएर यो सजिलै उपलब्ध हुने भएर हो । साथै, यो धेरैजसो मानिसहरूको पहुँचमा छ ।

स्याउमा हाम्रो स्वास्थ्यलाई सुधार्ने क्षमता भएको यो स्पष्ट छ । तर, हरेक दिन एक स्याउ खानाले हामीलाई डाक्टरबाट टाढा राख्छ भन्नु बढाइचढाइ गरिएको दाबी हो । 

सन् २०१५ अनुसन्धानकर्ताहरूले नौ हजार मानिसहरूमा एक अध्ययन गरेका थिए । यसमा मानिसहरूले पछिल्लो २४ घण्टामा के खाएका थिए भनेर बताएका थिए । यो अध्ययनमा उनीहरूले स्याउ खाने मानिसहरू, स्याउ नखानेहरूको तुलनामा डाक्टरकहाँ कम जाने निष्कर्ष निकालिएको थियो । यो नतिजालाई तथ्यांकको हिसाबले पूर्ण रूपमा सही भन्न सकिँदैन ।

Apple2-1750937352.jpg
‘हरेक दिन एउटा स्याउ खानुहोस्, औषधि पसलबाट टाढा रहनुहोस्’
अमेरिकाको न्यू ह्याम्पशायरस्थित डार्टमाउथ गिसेल स्कुल अफ मेडिसिनका महामार ीविज्ञानका सहायक प्राध्यापक म्याथ्यू डेभिस हरेक दिन स्याउ खाने र डाक्टरकहाँ जाने सम्भावनाबीच खासै सम्बन्ध फेला नपरेको बताउँछन् ।

उनी भन्छन्, “हाम्रो विश्लेषणको आधारमा के निष्कर्ष निस्कियो भने स्याउ खाने मानिसहरू सामान्यतया बढी स्वस्थ हुन्छन् ।” 

तर, अनुसन्धानकर्ताहरूले हरेक दिन स्याउ खाने मानिसहरूको औषधिमा निर्भर हुने सम्भावना कम हुने पनि फेला पारेका थिए ।

अध्ययनमा सहभागीहरूको सामाजिक–आर्थिकस्तरको दुरीलाई ध्यानमा राखेर विश्लेषण गर्दा यो निष्कर्ष महत्त्वपूर्ण थियो । त्यसैले अनुसन्धान पत्रको निष्कर्ष भनाइलाई अलिकति परिवर्तन गर्न सकिन्छ जस्तै “हरेक दिन एक स्याउ खानुहोस्, औषधि पसलबाट टाढा रहनुहोस् ।”

यद्यपि, डेभिसलाई ‘हरेक दिन एउटा स्याउ’ भन्ने भनाइसँग केही आपत्ति छ । सम्भवतः उनले र उनका सहकर्मीहरूले हरेक दिन स्याउ खाने र डाक्टरकहाँ जाने बीच ठोस सम्बन्ध फेला पार्न नसक्नुको पछाडि अन्य केही कारणहरू पनि हुन सक्ने बताइएको छ ।

उनी भन्छन्, “यो भनाइमा लुकेको धारणालाई मानिसहरू डाक्टरकहाँ तबमात्र जान्छन् जब उनीहरू बिरामी हुन्छन् । तर मानिसहरू वार्षिक स्वास्थ्य जाँच र रोगहरूको रोकथामका लागि आवश्यक सल्लाह लिन पनि डाक्टरकहाँ जान्छन् भन्ने स्वीकार गरिन्छ ।”

तर, अन्ततः उनी भन्छन्, “केवल स्याउ खानाले नै तपाईंलाई डाक्टरकहाँ जानु पर्दैन भन्ने धारणा गलत छ । वास्तवमा, तपाईंको सम्पूर्ण खाना पौष्टिक र स्वस्थ हुनुपर्छ ।” 

कोल्सन पनि यो कुरामा सहमत छन् कि ‘हरेक दिन एक स्याउ’ भन्ने भनाइको अर्थ मानिसहरूले नियमित रूपमा बोटबिरुवाबाट प्राप्त खाना खानुपर्छ भन्ने हो । स्याउ यसको राम्रो उदाहरण हो किनभने यो सजिलै उपलब्ध हुन्छ, किफायती छ र लामो समयसम्म भण्डारण गर्न सकिन्छ । उनी भन्छिन्, “फ्रिज आउनुअघि मानिसहरूले स्याउलाई सेलरमा राख्थे र ती लामो समयसम्म ताजा रहन्थे । तिनमा फंगस पनि लाग्दैनथ्यो ।”

एक दिनमा कति स्याउ खानुपर्छ ?
अन्य अनुसन्धानहरूले हरेक दिन स्याउ खानाले स्वास्थ्यलाई फाइदा हुने पत्ता लगाएको छ । तर यो तबमात्र हुन्छ जब मानिसहरूले दिनमा एकभन्दा बढी स्याउ खान्छन् । एक अध्ययनले हरेक दिन तीन स्याउ खानाले मानिसहरूको तौलमा कमी आएको देखायो । सन् २०२० मा प्रकाशित एक अध्ययनमा अनुसन्धानकर्ताहरूले ४० जना सहभागीहरूलाई (जसको कोलेस्ट्रोल स्तर अलिकति उच्च थियो) दुई समूहमा विभाजन गरे । एउटा समूहलाई हरेक दिन दुई स्याउ खान भनियो । जबकि अर्को समूहलाई उति नै क्यालोरी भएको स्याउबाट बनेको पेय दिइयो । यो प्रयोग आठ हप्तासम्म चलेको थियो र सहभागीहरूले स्याउ वा त्यसबाट बनेको पेयबाहेक आफ्नो खानपानमा कुनै अन्य परिवर्तन गरेनन् ।

अनुसन्धानकर्ताहरूले स्याउ खाने सहभागीहरूको कोलेस्ट्रोल स्तर अध्ययनको अन्त्यमा उल्लेखनीय रूपमा कम भएको पत्ता लगाए ।

यद्यपि, यो अध्ययनको एक कमजोरी के थियो भने यसमा केवल ४० जना सहभागी थिए, जुन ठूलो निष्कर्षमा पुग्नका लागि आवश्यक नमुना संख्याभन्दा कम थियो ।

अर्को एक अध्ययनले हरेक दिन तीन स्याउ खानाले मानिसहरूको तौल घट्यो र रगतमा ग्लुकोजको स्तरमा सुधार देखिएको पत्ता लगायो । यो अध्ययन ४० भन्दा बढी तौल भएका महिलाहरूमाथि गरिएको थियो ।

स्याउ खाने उत्तम तरिकाको कुरा गर्दा, अनुसन्धानकर्ताहरू स्याउको बोक्रा निकाल्न नहुने बताउँछन् । किनभने स्याउको बोक्रामा धेरै पोषक तत्व र एन्टीअक्सिडेन्टहरू हुन्छन् । उनी भन्छिन्, “हामीले स्याउको बोक्रा खानुपर्छ, किनभने स्याउका अधिकांश पोलिफेनोल्स त्यहीँ पाइन्छन् ।” उनको भनाइअनुसार जति पुरानो प्रजातिको स्याउ हुन्छ, त्यो नयाँ प्रजातिभन्दा राम्रो हुन्छ ।

सन् २०२१ मा उनले र उनका सहकर्मीहरूले एउटा अनुसन्धान पत्र प्रकाशित गरे जसमा इटालीको उत्तरी भागमा पाइने ‘पोम प्रुशियन’ नामक पुरानो स्याउको प्रजातिको अध्ययन गरिएको थियो । उनीहरूले यो प्रजातिमा आधुनिक स्याउहरूको तुलनामा धेरै पोलिफेनोल्स भएको पत्ता लगाए ।

“जब स्याउका नयाँ प्रजातिहरू विकास गरिन्छ, सामान्यतया आकार, स्वाद, र रूखहरूको बलियोपनमा अन्य गुणहरूमा ध्यान दिइन्छ,” उनी भन्छिन्, “रङको कुरा गर्दा त्यसको खासै महत्त्व हुँदैन । स्याउको बोक्राले नै रातो वा हरियो रङ दिन्छ ।”

अन्ततः हरेक दिन एक स्याउ खानाले डाक्टरकहाँ जाने आवश्यकतालाई कम नगरे पनि, यसले तपाईंको समग्र स्वास्थ्य वा लामो समयसम्म औषधिमा निर्भरतामा अवश्य प्रभाव पार्न सक्छ । गूजो भन्छिन्, “हरेक दिन एक स्याउ खानु फाइदाजनक भएको तर यो तबमात्र हुन्छ जब यो विविध प्रकारका बोटबिरुवामा आधारित खाद्य पदार्थहरू समावेश भएको आहारको हिस्सा हुन्छ । किनभने यही नै राम्रो स्वास्थ्यको वास्तविक आधार हो । बीबीसी

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ००:०१
प्रतिक्रिया दिनुहोस्