site stats
बाह्रखरी :: Baahrakhari
देश
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जनाको मृत्यु
फाइल तस्बिर ।

बनियानी । झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सातजना गैरनेपालीको समेत मृत्यु भएको छ । 

डिभिजन वन कार्यालय झापाका डा. सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । 

विसं २०८१ साउनदेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँचजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो १५ वर्षको तथ्यांक हेर्दा औषतमा बर्सेनि पाँचजनाको मृत्यु भएको देखिन्छ । 

जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविकमार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायत गतिविधि हुँदै आएका छन् । ‘फरेष्ट एक्सन नेपाल’का डा. लिलानाथ शर्मा विद्युतीय तारवारले मात्र मानव–हात्ती द्वन्द्व न्यूनीकरण नहुने बताउँछन् ।  

हात्तीको जैविकमार्ग निर्माण, वनभित्रै हात्तीमैत्री वातावरण निर्माण तथा वनमा सुधार गर्नसके मावन–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने उनले बताए । 

खानाको खोजीमा जंगलबाट हात्ती बाहिरिने भएकाले वनभित्र हात्तीको आहारा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । वन अतिक्रमणसँगै वननजिकै मानव बस्ती बढ्दै गएकाले पनि मावन–हात्ती द्वन्द्व बढ्दै गएको हो ।

हात्तीले मकै मन पराउने भएकाले पनि मकैखेती हुने बेलामा भारतबाट हुलका हुल हात्ती आउने गरेको डिभिजन वन कार्यालय डा. भलले बताए । अन्य समयमा भन्दा मकैको याममा हात्तीको आवागमन बढी हुने उनको भनाइ छ ।

पच्चीस हात्तीको मृत्यु

झापामा २०६२ सालयता २५ हात्ती मृत फेला परेका छन् । पछिल्लो समय जिल्लामा हात्तीको मृत्यु हुने क्रम बढेको छ ।

विगतमा बर्सेनि एक/दुई वटा हात्ती मृत भेटिने गरेका थिए । तर, केही वर्षयता हात्तीको मृत्यु हुने क्रम बढेको छ ।

विसं २०८० साउनदेखि २०८१ असार सम्ममा चार  हात्ती मृत फेला परेका थिए । चालु आवमा समेत हालसम्म चार हात्ती मृत फेला परेका डिभिजन वन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०८:१६
प्रतिक्रिया दिनुहोस्