
काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को छायांकन सकिएको छ । जेठ २२ गतेबाट छायाकंन सुरु भएको चलचित्रको सुटिङ २५ दिनमा सकिएको हो ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् ।
छायाकंनकै क्रममा सार्वजनिक गरिएको पोस्टरमा सिनेमाकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल छिन् । उक्त पोस्टरमा उनलाई बारमा देखाइएको छ । जहाँ औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा देखिएकी छन् ।
निर्माणपक्षले कलाकारको भूमिका र चलचित्रको कथाबारे प्रष्ट पारेको छैन ।
‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । चलचित्रको छायांकन मैनालीले नै गरेका हुन् ।
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।