
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन जाने भएका छन् । उनी असार १६ देखि १९ गतेसम्म सेभियामा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय विकास वित्तपोषण सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली शनिबार स्पेन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको स्पेन भ्रमणमा उनीसँग उनको श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू रहनेछन् ।
प्रधानमन्त्रीले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले उच्चस्तरीय कार्यक्रमहरूको अध्यक्षता र सम्मेलनका साइडलाइनमा आयोजना गरिने अन्य कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।
प्रधानमन्त्री ओलीले विभिन्न देशका आफ्ना समकक्षी र अन्य उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।
प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्कने कार्यक्रम छ ।