site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
...त्यसपछि मुक्तिसेनाले शस्त्रास्त्र भण्डार हात लियो

विराटनगर, पूर्वी कमान्डको मुख्यालय, पूर्वी मोर्चा । २००७ कार्तिक महीनाको एकाबिहान । मुक्तिको सम्भावना एउटा मधुरो सन्देश । पशुपतिनाथ मन्दिरको प्राङ्गणमा ठूलो र गम्भीर स्वरमा जय जयकारध्वनि भयो, “जय पशुपतिनाथको जय ।”

जयध्वनि हो अथवा मेघ गर्जन ? मुक्तिको सूचना लिएर यो जयध्वनि गुन्जिइरह्यो, पहाडमा, मधेशमा, शहरमा र गाउँ–गाउँमा । राणाशाहीका बन्धनमा युगौँदेखि जकडिएको नेपाली भूभाग पनि खुसीले मुस्कुरायो । राष्ट्रभरि फैलिएको उदासीनता जयध्वनिसँगै हटेर गयो ।

मुक्तिसेनाका सिपाहीका मुखमण्डलमा सधैँ एउटा अपूर्व प्रकाश अनि ओठमा मीठो मुस्कन रहने गर्छ । विजयादशमीका दिन आफ्ना मान्यजनका चरणमा शिर निहुराएर अभिवादन गर्दा यसपल्ट किन यति धेरै खुसी भएका हँ ! यी मुक्तिसेनाका सिपाहीहरू ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

... “आमा यसपल्ट रगतको टीका लगाइदिनुहोस् । ... बुबा, मलाई यस्तो आशीर्वाद दिनुहोस्–म देशको मुक्तिका लागि आफ्नो शरीर अर्पण गर्न सकूँ । जय होस्, विजय होस् ... ।”

बूढाबूढीहरूका आँखामा खुसीका आँसु टलपल गरिरहेका छन्— के भो यी युवकहरूलाई, किन यी यसरी बहुलाएका...।

मुक्तिसेनाका सिपाहीहरू तयार भएर आदेशको प्रतीक्षामा बसेका छन् ।

अरू धेरै दिन प्रतीक्षामै बिताउनुपर्‍यो । झिलिमिली तिहारको रमाइलो पनि आइपुग्यो । विराटनगरमा धेरैजसो घरमा यसपालि लक्ष्मीपूजा र भाइटीकाको पर्व एकदिन मनाइँदैछ ।

दाजुभाइहरूले आआफ्ना दिदीबहिनीसँग दुई दिनअघि नै अर्थात् लक्ष्मीपूजाकै दिन भाइटीकाको टीका लगाइमागे ।

शंखध्वनि गुन्जियो । तिहारका बत्तीहरू झलमलाए । टीका लगाउँदा स्नेहालु दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूका आँखामा अनौठो प्रकाशका झिल्काहरू देखे । अनि छक्क परेका दिदीबहिनीका मुखबाट आशीर्वाद दुई शब्द अचानक निक्लिए, “जय नेपाल !”

पत्नीहरूले आफ्ना पतिहरूका खुकुरी र बन्दुकलाई ढोग्दै विदावारीका ध्वनि निकाले, “जय नेपाल !”

भरिएका आँखासँगै आशीर्वाद दिए, “जय नेपाल !”

बाबु–आमाले छोराहरूको शिरमा हात राखेर खुसी आँसुले भरिएका आँखासँगै आशीर्वाद दिए, “जय नेपाल !”

कार्तिक महिनाको अन्त्यतिरको मध्यरात । चीसो तराईको शीत । लहलहाउँदो धानवाली । रातको सुनसानसँगै मुक्तिसेनाको पहिलो डफ्फा खेतका आली आली, खाल्डाखाल्डी र स–साना खोला–नालाहरू पार गर्दै विराटनगर शहरतिर अगाडि बढ्दैछ ।

गुरिल्ला युद्धको श्रीगणेश भयो–यसरी । मुक्तिसेनाका सबै सैनिकहरूको मनमा सैनिक व्यान्डबाजाको कल्पित धुनसँग एउटै गीत गुन्जिरहेछ,
“नेपाली, नेपाली, ए नेपाली वीर हो ।
अधि बढ अघि बढ लिएर मुक्ति भावना
चारतारे झण्डा हातमा, क्रान्ति ध्वनि छ डमडम ।”

मुक्तिसेनाको प्रत्येक सिपाहीका पाइलाको ध्वनिसँगै विराटनगर वरपरको भूमिसमेत रोमाञ्चित भयो । शहीद— शुक्रराज, धर्मभक्त, दशरथचन्द, गंगालाल र कृष्णप्रसाद कोइराला एवं असंख्य अमर शहीदहरूका आत्मा पनि शान्त भएका छन्–यसघरी । चकमन्न रातमा आकाशका ताराहरूसमेत खुसी भएका छन्–यसघरी । मानौँ सम्पूर्ण वातावरणमा खलबली मच्चिएको छ ।

“हल्ट” ।

विराटनगर शहरको एकछेउ । बाहिरपट्टि मुक्तिसेनाको सानो डफ्फा टक्क रोकिन्छ । अन्तिम निर्देशन हुन्छ, “ट्रेजरी, मालअड्डा र जेलखानामा कसैले गोली खर्च नगर्नू । चुपचाप कब्जा गर्नू । आवश्यकता परिगयो भने बन्दूक कुन्दा र पेस्तोलले मात्रै काम लिनु ।” यो थियो पहिलो कार्यक्रम ।

र, दोस्रो निर्देशन– मोरङ्ग जिल्लाका गभर्नर उत्तमविक्रम राणाका निवासस्थान र कार्यालयमा आक्रमण गर्ने, अनि गभर्नर र अरू सैनिक अधिकारीहरूलाई पक्राउ गर्ने । यस आक्रमणमा सबैले खुलमखुल्ला आ–आफ्ना हातहतियारको प्रयोग गर्ने...” ।

मुक्तिसेनाको डफ्फालाई दुई भागमा बाँडियो । एउटा समूहको नेतृत्व गिरिजाबाबू र विश्वबन्धुले गरे भने दोस्रो डफ्फाको नेतृत्व तारिणीप्रसाद र गुरिल्ला युद्धका प्रशिक्षक भोला चटर्जीको हातमा ।

पहिलो समूहले ट्रेजरी जेलखाना र सरकारी– अफिसहरूको क्याम्पमा छापा मारेर कब्जा गर्नुपर्ने, अनि दोस्रो समूहले शस्त्रास्त्र भण्डार र सैनिक ब्यारेकमाथि आक्रमण गर्नु थियो ।

शस्त्रास्त्र भण्डारको सुरक्षाकर्मी लामखुट्टे प्याट–प्याट मार्दै उभिएको छ । बेलाबेला भानुभक्तीय रामायणको सिलोक लय हालेर गाउँदै वरपर हेर्छ, “लंकापति हे यमदूत आयो ।”

अचानक टर्चको तेजिलो प्रकाश सुरक्षाकर्मीका आँखामा पर्छ । उसका आँखा तिर्मिराउँछन् । ऊ आफू सम्हालिएर राइफल हातमा लिउन्जेलसम्म मुक्तिसेनाका गुरिल्ला योद्धाहरूका संगीनले चारैतिर घेरि सक्छन् । 

“चुप लाग । नकराई राइफल हामीलाई सुम्पिएर हात उठाऊ ।” प्रहरी हाँस्तै हतियार सुम्पिदिन्छ । मानौ ऊ पहिलेदेखि नै यसै कामका निम्ति यहाँ तैनाथ गरिएको थियो । र ऊ यस्तै चाहन्थ्यो ।

शस्त्रास्त्र भण्डारमा राखिएका राइफल र बुलेटको रास देखेर गुरिल्ला योद्धाहरू छक्क परे । यतिका हातहतियार । ओहो, इस्पात, ताँवा र निकेलका हातहतियारको खजाना ।

उता ट्रेजरीको ठूलो दराज खुल्दै थिएन । मुख्य सम्पत्ति भण्डार । यो हात नपारी हुँदैन । 

“चाबी, चाबी त गभर्नरसँग छ ।”

“तोडिदेओ चाबी–साबी । ठूलो आवाज होला नि, परसम्म सुनिने गरी । ...”

“ए त्यता– पक्राउ गरिएका सुरक्षाकर्मीहरू राम्ररी सम्हाल । उम्किएलान् ।... छिटो गर । खजाना भण्डार हात लिइहाल ।” अँध्यारामा कसैको निर्देशन हुँदैछ ।

यस्तो बेलामा पनि हाँसो लाग्ने घटना पनि हुन सक्तो रहेछ । जुन घटनाले जस्तोसुकै कठोर मानिस पनि नहाँसी रहनसक्तैन । 

“अँध्यारामा यो को हँ यस्तो नाङ्गै ।”

“पूरै नाङ्गै छ कि कसो ।”

“होइन अन्डरवियरचाहिं लगाएको छ । एकदमै मोटो–चिप्लो पहाड जस्तै मान्छे ...”

सुनेर धेरै जना हाँसे । 

“ए चुप लाग । यो पनि हाँस्ने बेला हो ।”

नजीक आएर टर्चको उज्यालाले हेर्दा पो सबै छक्क परे । फेरि एकपल्ट सबै हाँसे । ती नाङ्गा मान्छे त जोगवनीका फेंकन चौधरी रहेछन् । पहिल्यैदेखि कोइराला परिवारसँग बसउठ गरेका । आत्मीय व्यक्ति ।

उनी पनि नेपाली कांग्रेसका एउटा सशक्त कार्यकर्ता थिए । राती मुक्तिसेनाहरूले “जय नेपाल” भन्दै मार्च गरेपछि हतार–हतार ओछ्यानबाट उठेछन् । लुगा लगाउन भ्याएनन् । हातमा खादी कुर्ता र धोती बोकेर अन्डरवियरकै भरमा –जोगवनीदेखि विराटनगर पुगेका रहेछन् ।

त्यसपछि मुक्तिसेनाले शस्त्रास्त्र भण्डार र मालखाना हात लियो । ढ्याम ढ्याम गोली चलिरहेको छ । रातीको सुनसान चिरेर आएको गोलीको आवाजले वातावरण कम्पायमान हुन्छ । दुवै समूह मिलेर गभर्नरको निवास र सैनिक व्यारेकमाथि कब्जा गर्ने योजना बनाउँछन् ।

शस्त्र भण्डारमा एउटा ठूलो समस्या आइलाग्यो । राइफलहरू दुईतीनवटा पनि झुन्ड्याउन सकिन्छ । काँधमा राखेर लैजान सकिन्छ तर बुलेट कसरी बोक्ने ? बोरा अथवा यस्तै कुनै साधन चाहियो । मध्यरातमा कहाँ खोज्ने ? फेरि हतार हतार नउठाए दुश्मनको प्रत्याक्रमण हुने सम्भावना ! कसरी, के गर्ने ?

‘हि... हि... यी यो हो समस्याको समाधान ।’ गुरु फेंकन चौधरीले हाँस्दै आफ्नो खादी धोती र कुर्ता खोलेर दिए । “यसैमा बाँध अटाए जति । कुर्तालाई तलमाथि बाँधेर बोराजस्तै बनाऊ ।”

जेलको सिपाही सतर्क भएजस्तो छ ? बेला–बेला निकै ठूलो र विकृत स्वरमा सिटी बजाउँदै कराउँदैछ । 

‘फिर्र... फिर्र...। खबरदार ! खबरदार !’ यति मात्रै होइन, त्यो सिपाही तम्तयार बसेको कुरा मुक्तिसेनाका कमान्डरले बुझेछन् । इसारा पाउनासाथ एकजना मुक्तिसेनाका सिपाहीले अँध्यारैमा निशाना ठोक्यो ।

‘ठ्याँ’ रिवल्वरको एउटै गोलीले जेलको सुरक्षाकर्मीलाई सुताइदियो ।

फेरि सुनसान । चुपचाप अन्धकार । सबै काम सोचेजस्तै फटाफट भइरहेछन् । जेलको मूल ढोका खोलिन्छ । जेलभित्रका कालकोठरीहरू खोलिन्छन् । भागाभाग, कोलाहल ! कमान्डरले रोक्दारोक्दै पनि नाराहरू गुन्जिन्छन् । जय नेपाल ! जय नेपाल ! नेपाली कांग्रेस जिन्दाबाद !

(साहित्यकार फणीश्वरनाथ रेणुद्वारा लिखित तथा डा. तुलसी भट्टराईद्वारा अनूदित ‘नेपाली क्रान्ति कथा’बाट सानो अंश ।)
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्