
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी रक्तबीजझैँ भएको टिप्पणी गरेका छन् । शनिबार (असार १४) काठमाडौंमा जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
एमाले रक्तबीजझैँ भएकाले एउटामाथि हमला गरे अरू धेरै राम्रा मान्छे यसमा जन्मने उनले उल्लेख गरे । एमालेलाई फुटाउन कसैले खोजे त्यो सम्भव नरहेको उनले चेतावनी दिए ।
एमालेले जबज जपेर बस्ने नभई कार्यान्वयन गरिरहेको उनले बताए । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललक्षित उनले ‘पार्टीकै सुविधा लिएर पार्टी फुटाउन लाग्नेहरूलाई लाज हुनु पर्दैन ?’ भन्दै प्रश्न गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीको भनाइ पढ्नोस्–
नेकपा (एमाले)ले सबै गलत प्रवृत्तिहरूलाई चिन्ने, तिनलाई पराजित गर्ने र सही विचार अघि बढाउने काम गर्दछ । त्यो सामर्थ्य नेकपा (एमाले)मा छ । यो रक्तबीजजस्तो छ । रक्तबीज एउटालाई काट्यो भने त्यसको रगत जति छरिन्छ, त्यति धेरै रक्तबीजहरू जन्मिन्थे । यो त्यस्तै हो । यसलाई दबाएर, यसलाई फुटाउँछु भन्ने पनि कसैले सोच्यो भने सम्भव छैन । किनभने, ठूलाठूला महारथीहरू, फुटाउनेहरू देखिए, ती सबै असफल भए । जननेता मदन भण्डारीले अघि सार्नुभएका विचारहरूको कार्यान्वयनको तीन दशक हो । हामी जबज जपेर बसेका छैनौँ, कार्यान्वयन गरेर बसेका छौँ । त्यसको विकास गरेर बसेका छौँ । त्यत्रो लाभ, सुविधा लिएका मानिसहरू पार्टी सिध्याउन लागे, सरम हुनु पर्दैन ? त्यही पार्टीले केके बनायो, त्यही पार्टी सिध्याउन लाग्ने, लाज हुनु पर्दैन तिनलाई ? न्युज एजेन्सी नेपाल