
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी राजनीतिमा सक्रिय भएको घोषणा गरेकी छन् । शनिबार (असार १४) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले नेकपा (एमाले)को सदस्यता नवीकरण गराएको बताइन् ।
“पार्टी सदस्यता नवीकरण गरेको छु । अब म एमालेको एक सदस्यका रूपमा पुनः जोडिएको छु,” उनले भनिन्, “यसमा गर्व छ । कुनै विशिष्ट आकांक्षा छैन ।”
पार्टी राजनीतिमा फर्कनुमा आफ्नो कुनै स्वार्थ नभएको उनले उल्लेख गरिन् । “उहाँ (मदन भण्डारीले) भन्नुभएको थियो– राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन,” उनले भनिन् ।
कार्यक्रममा विद्या भण्डारीको भनाइ पढ्नोस्–
आफ्नो मातृभूमि र जनताको फरक ढंगले सेवा गर्नुपर्ने दायित्वबाट म बाहिर आएको दुई वर्ष बढी भएको छ । यसबीचमा मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया गरेको छु र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ, विशेषज्ञसँग भेटघाट गरेको छु । मेरो यस किसिमको छलफलका आधारमा निस्केको निचोड भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो । त्यसैले यस गहन दायित्वलाई सबैले वहन गर्न अग्रसर हुनैपर्दछ । म राष्ट्रपतिको भूमिकाबाट बाहिर आएदेखि र अलिपछि त सघन रूपमा नै भविष्यमा मेरो सामाजिक तथा राजनीतिक जीवनको बारेमा सञ्चारजगत् र पार्टीको कार्यकर्तापंक्तिबाट समेत चासो राखेको पाएको छु । सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मेरा बारेमा चर्चा–परिचर्चा भइरहेको देखेको छु र पढेको छु । सार्वजनिक सरोकारका यी विषयहरूलाई मैले गहन रूपमा चिन्तन–मनन गरेको छु । अनि, एउटा निष्कर्षमा समेत पुगेको छु । त्यस विषयलाई आज मैले यहाँ स्पष्ट पार्नुपर्दछ भन्ने मलाई लागेको छ । जननेता मदन भण्डारीको अवसानबाट पार्टी र म समेत सिंगो राष्ट्र शोकमा डुबेको अवस्थामा मलाई पार्टीले काठमाडौंको संसदीय उपनिर्वाचनमा प्रतिस्पर्धी बनायो । यस राजनीतिक घटनाले मेरो पहिलो जन्म आमाबुबाले दिनुभएको र दोस्रो जन्म विद्या भण्डारीको रूपमा काठमाडौंका जनताले दिए भन्ने अनुभूति त्यस बेलै मैले गरेको थिएँ । जनताको माया र विश्वास तथा पार्टीको भरोसाले गर्दा मैले निर्वाचन समेत जितेँ । जनताको छोरीको रूपमा मैले सोही बेलादेखि नै आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई दिनेछु भन्ने संकल्प गरिसकेको थिएँ । देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी भएकाले नै म विद्यालय तहको विद्यार्थी हुँदादेखि नै पहिलेको माले र अहिलेको नेकपा (एमाले)मा आबद्ध भएर सामाजिक–आर्थिक रूपान्तरण अभियानमा आबद्ध भएकै हुँ । वास्तवमा त्यस बेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरिसकेकै थिएँ । फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्त्वाकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । साथै, उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारका कसीबाट खारिएका यी भनाइलाई आदर्श मानेर म समर्पित बनिरहनेछु । राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन् । मलाई जस्तै विगतले अरूलाई पनि महत्त्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात् गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदाझैँ सबैको सधैँभरि माया र विश्वास पाइरहूँ ।