
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दैनिक औसत ७०० मेगावाट बिजुली भारत र बंगलादेशमा निर्यात गर्न थालेको छ । प्राधिकरणले मध्यकालीन, सम्झौता र ऊर्जा खरिद बिक्री बजार (आईईएक्स)मा बिजुली खरिद बिक्री गरिरहेको छ ।
प्राधिकरणले २०७८ कात्तिक १६ गते भारतीय बजारमा बिक्रीको अनुमति पाएको थियो । उक्त वर्षपछि प्राधिकरणको नाफामा निरन्तर वृद्धि हुँदै गएको छ ।
हाल प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड, रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ । प्राधिकरणले द्विपक्षीय सम्झौताअन्तर्गत ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत दुई सय मेगावाट विद्युत् भारतलाई निर्यात भइरहेको छ ।
त्यस्तै, भारतका हरियाणा र बिहारमा पनि थप १२५ मेगावाट विद्युत् आपूर्ति भइरहेको प्रवक्ता राजन ढकालले जानकारी दिए । यो (मिडियम टर्म) सम्झौता अर्थात् मध्यम अवधिका लागि २४ सै घण्टा हुने निर्यात हो । बिहीबार मात्रै प्राधिकरणले भारतीय बजारबाट ११ करोड ५४ लाख रुपैयाँ कमाइ गरेको ढकालले जनाए ।
प्राधिकरणले बिहीबार १५ हजार ५३३ मेगावाटआवरको बिजुली निर्यात गरेको थियो । जसमा आठ हजार ७४० मेगावाट द्विपक्षीय सम्झौता र छ हजार ७९३ मेगावाटआवर आईइएक्समा बेचेको हो । प्राधिरणले औसत मूल्य युनिटको ७ रुपैयाँ ४३ पैसा पाइरहेको ढकालले जानकारी दिए ।
यस्तै गतवर्षको असोज १७ गते नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय सम्झौतापश्चात जुन १५ देखि ४० मेगावाट बिजुली निर्यात भइरहेको छ । बंगलादेश जाने बिजुली ढल्केवर–मुजफ्फरपुर लाइन हुँदै निर्यात भइरहेको प्राधिकरणले जनाएको छ ।
यसका साथै, नेपालले भारतीय ऊर्जा खरिद–बिक्री बजार (आईईएक्स) मार्फत खुला बजारमा समेत विद्युत् निर्यात गरिरहेको छ । यस प्रणालीअन्तर्गत दैनिक औसतमा २५० देखि ३५० मेगावाट बिजुली भारतको खुला बजारमा बिक्री भइरहेको प्राधिकरणले जनाएको छ ।
खुला बजारमा प्रतिस्पर्धात्मक मूल्यमा ऊर्जा बेच्ने क्षमताल नेपालको आयमा उल्लेखनीय योगदान पुर्याएको छ । गतवर्ष नेपालले भारतलाई १७ अर्ब ७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो । भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो ।
यसवर्ष प्राधिकरणले २० अर्ब रुपैयाँ बराबरको निर्यातको लक्ष्य राखेको थियो । तामाकोसीलगायतका आयोजनामा भएको क्षतिका कारण १८ अर्ब रुपैयाँ बराबरको निर्यात हुने ढकाल बताउँछन् ।
०७२/७३ देखि निरन्तर नाफामा
नेपाल विद्युत् प्राधिकरणको हबिगत नेपाल वायु सेवा निगमजस्तै उच्च घाटा खाने खराब सूचीमा दर्ज थियो, आर्थिक वर्ष २०७२/७३ सम्म । अर्थात् उच्च नोक्सानी बेहोर्ने सार्वजनिक संस्थानमा प्राधिकरणको नाम अग्रपंक्तिमा आउने गरेको थियो ।
२०७०/७१ मा प्राधिकरणको खुद नोक्सान ४ अर्ब ७० करोड रुपैयाँ थियो । सरकारले बेलाबखत ऋण अपलेखन (ऋण माफ) गरेको थियो । झन्डै १० वर्ष अघिसम्म अर्बौँ घाटामा रहेको संस्थान १० वर्षदेखि निरन्तर नाफामा छ ।
प्राधिकरणले चुहावट घटाउनेदेखि लोडसेडिङ व्यवस्थापनपछि नाफा यात्रा हालसम्म कायम छ । आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरणको खुद नोक्सानी एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ थियो ।
आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएर सुरु गरेको प्राधिकरण लय हालसम्म उस्तै छ ।
आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ४३ करोड, आर्थिक वर्ष २०७/०७६ मा नाफा बढाएर दोहोरो अंक पुर्याएको थियो । उक्त वर्ष ११ अर्ब ७५ करोडको नाफा कमाएर इतिहास रचेको थियो । यस्तै २०७७/७८ मा नाफा घटेर ६ अर्ब १० करोडमा झरेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा १३ अर्ब ३७ करोड पुग्यो । यस्तै आर्थिक वर्ष २०७९/८० मा नौ अर्ब ४१ करोड र गत आर्थिक वर्ष तथ्यांक अनुसार १३ अर्ब ३१ करोड रुपैयाँ नाफा रहेको प्राधिकरणले जनाएको छ । विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेको छ । निर्यातको मात्रा बढ्दै गएको छ । गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी प्राधिकरणले १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।