
काठमाडौं । राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउने लगायतका आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आइतबार सहरी विकास मन्त्रालयमा बसेको परिषद्को बैठकले केही दिनयता देशका धेरै स्थानमा भइरहेको वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै उक्त निर्णय गरेको हो । परिषद् बैठकले जोखिम भएको ठाउँमा रातको समयमा सवारीसाधन नचलाउने, भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावित क्षेत्रमा ‘रिपोर्टिङ’को तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई ‘रेस्क्यु’ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको समयमा नागरिकको जीवनरक्षाका लागि आवश्यक पूर्वतयारीमा कुनै कमी नगर्न आग्रह गर्दै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले मौसम पूर्वानुमानपछिको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्बाट क्षति हुनबाट रोक्न सकिने भन्दै पूर्वसूचना प्रभावकारी बनाउने र त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको मौसमका कारण हुनसक्ने सम्भावित जोखिमको अवस्थालाई ध्यान दिँदै भइरहेका तयारीबारे जानकारी लिए । सो क्रममा गृहमन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सडक विभागका तर्फबाट भइरहेका पूर्वतयारीका बारेमा जानकारी गराइएको थियो । उनले सरोकारवाला सबै निकायलाई मौसम पूर्वानुमानलाई ध्यान दिँदै जोखिम रहेका ठाउँमा पूर्वसूचना प्रभावकारी बनाउने र जोखिम आइहाले त्यसको सामना गर्नसक्ने गरी तयारी अवस्थामा बस्न आग्रह गरे ।
बैठकमा गृहमन्त्री रमेश लेखकले सम्भावित जोखिमलाई ध्यान दिँदै तीनवटै सुरक्षा निकाय ‘अलर्ट’मा बसेको, सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत विपद्मा परिचालन गर्नुपर्ने अवस्थामा तयारी अवस्थामा राखिएको बताए । उनले मौसम पूर्वानुमानअनुसार जोखिम रहेका सडकमा सवारीसाधन सञ्चालन नगर्नु भनेको अवस्थामा सवारीसाधन चलाएका र केही भएमा त्यसको जिम्मेवार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र अन्तिम चेकपोस्टको प्रहरी इञ्चार्ज हुनेगरी निर्देशन पठाइसकिएको जानकारी दिए ।