site stats
बाह्रखरी :: Baahrakhari
खेल
ऐतिहासिक खेलमा नेपाली महिला टिमले पाएको ‘सरप्राइज’

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले आइतबार (असार १५ गते) खेलेको १००औँ खेल धेरै अर्थमा विशेष रह्यो । उज्वेकिस्तानको तास्केन्तमा सम्पन्न नेपालको ऐतिहासिक खेलमा प्रतिद्वन्द्वी थियो, लाओस ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने वरीयता हेर्दा यी दुई टिमबीचको अन्तर खासै ठूलो छैन । वरीयतामा नेपाल १००औँ स्थानमा छ, लाओस १०७औँ स्थानमा ।

तर, सात स्थानमात्रै तल रहेको टिमविरुद्ध नेपालले मिली रंगशालामा म्याच रेफ्रीले अन्तिम ह्विसिल बजाउँदा ९–० को एकपक्षीय जित दर्ता गर्‍यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

NepalvsLaos-1751273345.jpg
यो जितले नेपाली महिला टिमको जिम्मेवारी पाएपछि प्रशिक्षक प्याट्रिक डे वाइल्डको अन्तर्राष्ट्रिय ‘डेब्यू’ सुखद बन्यो । सँगै पहिलोपटक नेपाली टिमको कप्तानी जिम्मेवारी सम्हालेकी सावित्रा भण्डारी (साम्बा)को अनुभवलाई पनि स्मरणयोग्य बनायो । 

“म मेरो टिमका सबै खेलाडीप्रति गौरवान्वित छु । टिमकै प्रदर्शन राम्रो रह्यो । मैले खेलको रणनीति दिएको थिएँ । जसलाई खेलाडीहरूले मैदानमा देखाए,” आफ्नो प्रशिक्षणको पहिलो खेलमै सानदार जित निकालेपछि प्रशिक्षक वाइल्डले भने ।

सुरुआतको असामञ्जस्यता !
नेपाली टिमका नवनियुक्त प्रशिक्षक वाइल्डले छनोटका निम्ति अन्तिम २३ सदस्यीय टोलीको घोषणा गर्दा कप्तान खुलाएनन् । यहीबाट नेपाली टिममा असामञ्जस्य परिस्थिति देखियो । 

लाओसविरुद्ध खेल्ने नेपाली टिमको सुरुआती–११ मा यसअघिकी नियमित कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले स्थान बनाउन सकिनन् । त्यसपछि नेपाली फुटबलप्रेमीमाझ कप्तानी जिम्मेवारी कसले पाउँछ भन्ने कौतुहलता बढ्यो । यसअघि, नेपाली टिममा कप्तानी जिम्मेवारी सबैभन्दा सिनियर खेलाडीलाई दिने प्रचलन थियो । सोहीअनुसार एन्जिला पहिलो रोजाइमा नहुँदा मिडफिल्डर रेनुका नगरकोटेले यो भूमिका निभाउने आकलन थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको सुरुआती–११ मा पनि कप्तानी जिम्मेवारी रेनुकालाई दिइएको देखाइयो । तर, त्यसको केहीबेरमै एन्फाको सूचना फेरियो । र, नेपाली टिमको नयाँ कप्तानमा आइन्, सावित्रा भण्डारी (साम्बा) ।

सन् २०१४ देखि नेपाली राष्ट्रिय टिममा नियमित रहेकी सावित्राले यसअघि कुनै पनि खेलमा यो जिम्मेवारी निभाएकी थिइनन् । यसर्थ उनी नेपाली टिमको कप्तानी जिम्मेवारी सम्हाल्ने ११औँ कप्तान बनिन् ।

NepalvsLaos-ss-1751273343.jpg
त्यसो त प्रशिक्षक वाइल्डले यसअघिका नियमित कप्तान एन्जिलालाई पहिलो रोजाइमा नराखेको हुँदामात्रै सावित्राले यो जिम्मेवारी पाएको भन्ने तर्क पनि छ । तर, यसअघि एन्जिला नहुँदा रेनुकाले यो जिम्मेवारी पाउँथिन् । आइतबारको खेलमा रेनुकाको स्थानमा सावित्रालाई रोज्नुले पनि वाइल्डको आफ्नो निर्णयमा स्पष्ट रहेको देखाउँछ । 

अझ मिडफिल्डर प्रीति राई, रक्षक पुजा राना र फरवार्ड रेखा पौडेल पहिलो रोजाइमा नहुनु अप्रत्याशित थियो ।

लक्ष्य एसिया कपमा पुग्ने नै हो : रेनुका
प्रशिक्षकको रणनीतिअनुसार, नेपाली टिमले सुरुआतदेखि नै लाओसको १८ यार्ड बक्स वरपर दबाब बढाएको थियो । वरीयतामा खास फरक नरहे पनि लाओसको टिमले अधिकांश समय रक्षापंक्तिमै बितायो ।

पहिलो हाफमा अनिता बस्नेत र सावित्राको गोलमा नेपालले २–० को अग्रता बनाएको थियो । जसलाई अन्तिम ह्विसिल बज्दासम्म नेपालले ९–० सम्म लम्ब्याउन सफल रह्यो । दोस्रो हाफमा सावित्राले तीन गोल थप्दा सरु लिम्बु, रश्मीकुमारी घिसिङ र अनिता केसीले समान एक गोल थपे । नेपालले अर्को एक गोल लाओसका खेलाडीबाट आत्मघातीरूपमा पाएको थियो ।

“समग्रमा खेल राम्रो भयो । प्रशिक्षकले अट्याकिङ फुटबल खेल्न भनेर सिकाउनुभएको थियो । हामीले त्यही रणनीतिलाई मैदानमा उतार्ने प्रयास गर्‍यौँ,” खेलपछि टिमकी सिनियर खेलाडी रेनुकाले भनिन्, “९–० को जित निस्कियो । तर, अझै हुनुपर्ने गोल भएन । टिम कम्बिनेसन र पासमा अझै थोरै कमजोरी देखिएको छ । तर, यो प्रतियोगिताको पहिलो खेल भएर पनि हुन सक्छ । आगामी दिनमा पक्कै पनि यसमा सुधार हुनेछ ।”

NepalvsLaos-2-1751273343.jpg
नेपालले अब बुधबार दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकासँग खेल्नेछ । दक्षिण एसियामा श्रीलंकाविरुद्ध नेपाल सधैँ हाबी रहँदै आएको छ । त्यसपछि नेपालले प्रतियोगिताको अन्तिम खेलमा उज्वेकिस्तानविरुद्ध खेल्ने तालिका छ । उज्वेकिस्तान त्यही टिम हो, जोविरुद्ध नेपाल हालसम्म जितविहीन छ । यही इतिहासका कारणले एसियन कपसम्म पुग्न नेपाललाई उज्वेकिस्तानसँगको खेल सबैभन्दा महत्त्वपूर्ण छ । 

रेनुका नेपाली टिम एसियन कपको लक्ष्यका साथ हिँडिरहेकाले आत्मविश्वासी र एकअर्काप्रति सहयोगी रहेको बताउँछिन् ।

“हामी खेलाडी सबैजना एकदमै आत्मविश्वासी छौँ । उज्वेकिस्तान बलियो टिम हो । तर, आज हामीले लाओसलाई जित्यौँ । अब श्रीलंकाविरुद्ध जितका निम्ति खेल्नेछौँ । त्यसपछिको समयमात्रै उज्वेकिस्तानविरुद्धको खेलका निम्ति सोच्ने हो । हाम्रो मुख्य लक्ष्य भनेको एसिया कपमा छनोट हुनु नै हो । त्यसैकारण हामी सबैजना एक–अर्कालाई सर्पोट गरेर, आत्मविश्वासी भएर खेलिरहेका छौँ,” रेनुकाले थपिन् ।

तस्बिरहरू : एनएसजेएफ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्