
काठमाडौं । लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीविरुद्ध ४–० को सहज जित निकाल्दै फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फिफा क्लब विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ ।
बुधबार अमेरिकास्थित मर्सिडिज बेन्ज रंगशालामा युरोपियन च्याम्पियन समेत रहेको पीएसजीलाई जित दिलाउन जाओ नेभेसले दुई गोल गरे । अक्रफ हाकिमीले एक गोल थपे । पीएसजीले अर्को एक गोल भने मियामीबाट आत्मघाती उपहार पाएको थियो । पीएसजीले चारै गोल पहिलो हाफमा गरेको हो ।
खेलको छैटौँ मिनेटमा नेभेसले गोल गर्दै पीएसजीलाई अग्रतामा राखेका थिए । ३९औँ मिनेटमा नेभेसकै गोलमा पीएसजीले अग्रता दोब्बर बनायो । ४४औँ मनेटमा थोमस अभिलेसबाट आत्मघाती गोल भएपछि पीएसजीले अग्रताको ३–० मा पुगेको थियो थियो । पहिलो हाफको इन्ज्युरी समयमा हाकिमीले गोल गरेपछि पीएसजी ४–० को स्थितिमा पुगेको थियो । दोस्रो हाफमा थप गोल भएन ।
बायर्न म्युनिख ४–२ फ्लेमिंगो
पीएसजीले अब सेमिफाइनलमा प्रवेशका निम्ति जर्मन च्याम्पियन बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ । बायर्नले सोमबार बिहान भएको खेलमा ब्राजिलियन क्लब फ्लेमिंगोविरुद्ध ४–२ को जित निकाल्दै क्वार्टफाइनल यात्रा तय गरेको हो ।
मियामीस्थित हार्ड रक रंगशालामा बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । लियोन गोरेट्ज्काले एक गोल थपे । बायर्नले पनि एक गोल आत्मघाती उपहार पाएको थियो । फ्लेमिंगोका गेर्सन र जोर्गिन्होले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
बायर्न र पीएसजीबीचको खेल आउँदो शनिबार राति नेपाली समयानुसार ९ः४५ बजे सुरु हुनेछ ।