
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वैदेशिक मानवीय सहायता कटौतीका कारण सन् २०३० सम्म एक करोड ४० लाखको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ । लान्सेट मेडिकल जर्नलमा सोमबार प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार, जोखिममा रहेकामध्ये एकतिहाइ बालबालिका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत मार्चमा बताएअनुसार, ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) का ८० प्रतिशतभन्दा बढी कार्यक्रम रद्द गरेको छ ।
“धेरै निम्न र मध्यम आय भएका देशहरूका लागि यो कटौतीको परिणाम विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्वको स्तरमा तुलनायोग्य हुनेछ,” प्रतिवेदनका सहलेखक डेभिड रासेलाले विज्ञप्तिमार्फत भनेका छन् ।
बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसन्धानकर्ता रासेलाले अगाडि भनेका छन्, “वित्तीय कोष कटौतीले कमजोर जनसंख्यामाझ दुई दशकको स्वास्थ्य प्रगतिलाई अचानक रोक्न र उल्ट्याउन सक्छ ।”
संयुक्त राष्ट्रसंघको नेतृत्वमा आयोजित दशककै ठूलो सहायता सम्मेलनमा विश्वका दर्जनौँ नेताहरू स्पेनको सेभिल सहरमा भेला भइरहेका बेला प्रतिवदेन सार्वजनिक भएको हो ।
अनुसन्धानकर्ताहरूले १३३ राष्ट्रको तथ्यांकको समीक्षा गर्दै सन् २००१ देखि २०२१ सम्ममा यूएसएआईडीले विकासशील देशमा नौ करोड १० लाख मानिसको मृत्यु रोकेको अनुमान गरेका छन् ।
उनीहरूले अमेरिकी सरकारले यस वर्षको सुरुमा घोषणा गरेको ८३ प्रतिशत वित्तीय कोष कटौतीले मृत्युदर पार्ने प्रभावमा प्रक्षेपण मोडल प्रयोग गरेका थिए । प्रक्षेपणअनुसार, कोष कटौतीले सन् २०३० सम्ममा एक करोड ४० लाखभन्दा बढी रोक्न सकिने मृत्यु निम्त्याउन सक्छ ।
यसमा पाँच वर्षमुनिका ४५ लाखभन्दा बढी बालबालिका समावेश छन् । जुन प्रतिवर्ष करिब सात लाख बाल मृत्यु बराबर हो ।
अमेरिकी अर्बपति एलन मस्कको लागत कटौती पहलको नेतृत्वमा रहेको ट्रम्प प्रशासनले संघीय कार्यबललाई संकुचन गर्ने लक्ष्य राखेको छ । यसले यूएसएआईडीलाई उदारवादी परियोजनालाई समर्थन गरेको आरोप लगाएको छ ।
अमेरिकी विदेशमन्त्री रुबियोले अमेरिकाले कोष कटोती गरेर बाँकी रहेका लगभग एक हजार कार्यक्रम अमेरिकी विदेश मन्त्रालय र कांग्रेससँगको परामर्शमा अझ प्रभावकारीरूपमा सञ्चालन गरिने बताएका छन् ।
बीबीसीबाट ।