
काठमाडौं । नेपाल वायुसेवा निगम, दमाम स्टेसनले ६७औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली राजदूत डा. नरेशविक्रम ढकालको प्रमुख आतिथ्यता तथा निगमका कन्ट्री म्यानेजर अन्जु शर्मा मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साउदी अरेबियामा कार्यरत विभिन्न ट्राभल एजेन्सीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
५० भन्दा बढी ट्राभल एजेन्सीको सहभागिता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत ढकालले निगमको उडान अझ सशक्त र प्रभावकारी बनाउने आवश्यकता औँल्याए । उनले झन्डै पाँच लाख नेपाली श्रमिक कार्यरत रहेको साउदी अरेबियामा नेपाल वायुसेवा निगमका उडान थप गर्नु जरुरी रहेको भन्दै मध्यपूर्व क्षेत्रमा निगमको उपस्थिति मजबुत बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै विभिन्न ट्राभल प्रतिनिधिहरूले पनि निगमको सेवा विस्तारको खाँचो औँल्याएका थिए । कार्यक्रममा लक्की ड्र समेत आयोजना गरिएको थियो, जसमा थुती टाइम्स ट्राभलका सेल्स म्यानेजर जलन दाहालले एक थान टिकट जितेका थिए ।