site stats
बाह्रखरी :: Baahrakhari
देश
आजको संवैधानिक इजलासमा ५२ ‘असंवैधानिक’ पदाधिकारीविरुद्धको मुद्दा मात्र

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज संवैधानिक निकायका ५२ ‘असंवैधानिक’ पदाधिकारीविरुद्धको मुद्दा मात्र राखिएको छ । 

यसअघि जेठ २८ मा निसु हुँदा उक्त मुद्दासहित अर्को निशु भएको मुद्दा र अन्य २३ मुद्दा पेसीमा थिए । तर, यही मुद्दाले इजलास बस्न नसक्दा सबै मुद्दा हेर्न नमिल्नेमा परेका थिए भने निशु भएका मुद्दाको निशु सरेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज भने इजलासमा रहेका अन्य मुद्दा प्रभावित नहुन् भनेर संवैधानिक परिषद्सहित त्यहाँबाट नियुक्त भएर संसदीय सुनुवाइबिना नियुक्त भएका ५२ पदाधिकारीलाई विपक्षी बनाइएको मुद्दा मात्र पेसीमा चढेको हो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश जारी गरी तीन सदस्यीय परिषद्‌बाट ०७७ मंसिर ३० र वैशाख २६मा सिफारिस गरिएको थियो ।

संविधानसँग बाझिने गरी जारी भएको अध्यादेश र उक्त अध्यादेशमार्फत गरिएका काम कारबाहीसमेत बदर माग गर्दै अधिवक्ता ओमप्रकार अर्यालले ०७७ पुस १ गते नै रिट दायर गरेका थिए । 

तर, नियुक्ति प्रक्रियामा संलग्न भएका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले सुनुवाइ प्रभावित पार्दै नियुक्ती अघि बढाउने वातावरण निर्माणमा काम गरेका थिए । 

पुस ७ मा ओलीले संसद् विघटन गरेर त्यसपछि मात्र संसदीय सुनुवाइका लागि पत्राचार भएका थिए । त्यही पत्राचारका आधारमा सुनुवाइ हुन नसकेको निष्कर्ष आफैँले निकालेर परिषद्ले नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तत्कालीन राष्ट्रपति विद्या भण्डारीले ०७७ माघ २१ गते ३२ पदाधिकारीलाई नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्