
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमा रहेको बताएका छन् । राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा लिङदेनले नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारीमा रहेको बताए ।
उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आमजनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन नसकेको बताए । पार्टीले गर्ने संगठनको सबै क्रियाकलाप आन्दोलनको तयारीको रूपमा नै बुझ्न उनले आग्रह गरे ।
त्यस्तै, अध्यक्ष लिङदेनले देशमा भ्रष्टाचार व्याप्त भएकाले सबैमाथि छानबिन गरेर दण्डित गर्नुपर्नेमा जोड दिए । नेताले नियुक्ति गरेका मान्छेहरूले नेतालाई कारबाही गर्न नसक्ने भएकाले अहिलेको समस्या व्यवस्थामा रहेको लिङदेनको धारणा छ ।
उनले बिचौलियाले तय गरेअनुसार कानुन बन्ने र नियुक्त हुने देखिएकाले नेतामात्रै फेरेर मुलुकको अवस्थामा कुनै परिवर्तन नहुने जिकिर गरे ।