
काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी गरेर फरार रहेको आरोप लागेका ज्योती भण्डारी असार पहिलो साता कानुनी दायरामा आए । बर्दियाको बाँसगढी नगरपालिका–७ का ४२ वर्षीय भण्डारीलाई प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत कम्बोडियाबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो ।
भण्डारीसहितका आरोपितले मितेरी सहकारीको १४ करोड रुपैयाँ ठगी गरेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानबाट ज्योति भण्डारी एक्लैले तीन करोड ४४ लाख रुपैयाँ अपचलन गरेको खुलेको छ ।
नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले भण्डारीका लागि ०८१ कात्तिक १३ गते 'रेड नोटिस' जारी गरेको थियो । रेड नोटिसका आधारमा उनलाई कम्बोडियाबाट पक्राउ गरेर नेपाल ल्याइएको हो ।
उनीमाथि सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सहकारी ठगी प्रकरणमै रेड नोटिस जारी भएर भण्डारी पक्राउ परे पनि विभिन्न पाँचवटा सहकारी ठगीका चर्चित आरोपित जीबी राईको अवस्था अझै अज्ञात छ ।
उनी कुनै पनि माध्यमबाट सम्पर्कमा छैनन् । प्रहरी अधिकारीका अनुसार, उनी मलेसियामा लुकेर बसेका छन् । राई नै अध्यक्ष रहेका गोर्खा मिडिया ग्रुपको ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री रवि लामिछाने र सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि थुनामा छन् ।
जीबी राईले नै सञ्चाल गरेका पोखराको सूर्यदर्शन, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी, रूपन्देहीको सुप्रिम तथा पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा जोशी र लामिछानेको भूमिका देखिएपछि उनीहरू पनि पक्राउ परेका थिए ।
जीबीजस्तै सहकारी ठगी प्रकरणमै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले रेड नोटिस जारी गरेका पुल्चोकस्थित सुमेरु सेभिङ एन्ड क्रेडिट सहकारीका तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध समेत रेड नोटिस जारी भइसकेको छ ।
तर, महर्जन अझै पक्राउ पर्न सकेका छैन । उनी जीबी राईजस्तै सम्पर्कविहीन भने छैनन् । पछिल्लो समय महर्जन सामाजिक सञ्जाल फेसबुकमार्फत सक्रिय देखिन्छन् ।
सहकारीको सञ्चालक समितिले विभिन्न मितिमा गरेका निर्णयसमेत सार्वजनिक गर्दै आएका छन् । तर, आफूकहाँ रहेकोबारे कुनै जानकारी गराएका छैनन् । प्रहरी अधिकारीका अनुसार, उनी लन्डनमा रहेको आशंका गरिएको छ ।
महर्जन अध्यक्ष रहेको ललितपुरको पुल्चोकस्थित सुमेरू सेभिङ एन्ड क्रेडिट सहकारीले करिब ३५ हजार बचतकर्ताको १० अर्बभन्दा बढी रकम हिनामिना देखिएको थियो ।
तर, प्रहरीले बचतकर्ताबाहेक सञ्चालक समितिले नै महर्जनविरुद्ध उजुरी दिएका कारण प्रहरीले महर्जनबारे मात्रै अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो । सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले गएको पुस २ मा जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गराएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महर्जनले तीन अर्ब ९३ करोड ४३ लाख रुपैयाँ अपचनल गरेको तथ्य खुलाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको थियो । फरार मर्हजनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले १९ माघ ०८० मा रेड नोटिस जारी गरेको थियो ।
तर, उनलाई फिर्ता ल्याउन सकेको छैन । मर्हजन २०५७ साउनदेखि २०७५ पुससम्म सहकारीमा कार्यकारी अध्यक्ष थिए । प्रहरीका अनुसार, महर्जनको सपरिवार नै दुई वर्ष अघिदेखि नै लन्डन पुगेको छ ।
गएको वर्ष नै ६० किलो सुन तस्करीको अरोपमा रेड नोटिस जारी भएका जीवन चलाउने पनि सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् । गएको भदौदेखि फरार रहेका बर्दिया गेरुवा गाउँपालिका–४ का ३८ वर्षीय चलाउने टिकटकमा सक्रिय देखिन्छन् ।
उनी अमेरिका पुगेको आंशका प्रहरीले गरेको छ । प्रहरी अधिकारीका अनुसार, रेड नोटिस जारी भएकाहरू युरोप र अमेरिका पुग्दा त्यहाँको प्रहरीले पक्राउ गरेर बुझाउने सम्भावना कम हुने गर्छ ।