site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना–२’ म्युचुअल फन्ड असार २२ देखि निष्कासनमा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गतको नयाँ योजना ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई सार्वजनिक निष्कासनमा ल्याउने भएको छ । कम्पनीले असार २२ गतेदेखि यो योजना निष्कासन गर्ने जनाएको छ । 

सस्तो, सुरक्षित र व्यावसायिक ढंगले लगानी गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको यो योजना प्रारम्भमा एक अर्ब २० करोड रुपैयाँको कोष आकारबाट सुरु हुनेछ । माग बढी भएमा यो कोष आकारलाई २५ प्रतिशतसम्म बढाएर एक अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन सकिने क्यापिटलले जनाएको छ ।

यस योजनाले इक्विटी तथा निश्चित आम्दानी साधनहरूमा सन्तुलित रूपमा लगानी गरी जोखिम व्यवस्थापन गर्दै दीर्घकालीन लाभ दिन उद्देश्य राखेको छ । योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार सञ्चालन हुनेछ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण र उचित कोष व्यवस्थापन सुनिश्चित गर्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो योजना १० वर्ष अवधिको बन्दमुखी योजना हो, जसमा प्रतिइकाई मूल्य १० रुपैयाँ तोकिएको छ । सार्वजनिक निष्कासनमा १२ करोड इकाईहरू जारी गरिनेछ, जसमा न्यूनतम एकसय इकाईदेखि अधिकतम योजनाको १० प्रतिशत अर्थात् एक करोड २० लाख इकाईसम्म खरिद गर्न सकिनेछ । योजना सुरु भएपछि प्राप्त मुनाफाबाट लाभांश वितरण गरिनेछ र बाँकी रकम पुनः लगानीमा प्रयोग गरिनेछ । कोष नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुनेछ ।

योजनाको लगानी संरचना पनि विविध बनाइएको छ । इक्विटी वा इक्विटीसम्बन्धी साधनहरूमा ७०–९० प्रतिशत, निश्चित आम्दानी साधनहरूमा ०–१० प्रतिशत, फिक्स्ड डिपोजिटमा ०–१० प्रतिशत र नगद वा अन्य म्युचुअल फन्डहरूमा ०–१० प्रतिशतसम्म लगानी हुने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई क्यापिटलका अनुसार, यो योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत हुने अनुमान गरिएको छ, जसअनुसार १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त हुनेछ । अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत हुने कम्पनीले प्रक्षेपण गरेको छ । पहिलो ९ वर्षसम्म आठ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सम्भावना रहेको कम्पनीले जनाएको छ ।

हालसम्म ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत दुईवटा योजना सञ्चालनमा छन् । तीमध्ये समुन्नत योजना–१ ले सात वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने ब्यालेन्स्ड फन्ड–१ को कोष आकार एक अर्ब दुई करोड रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमई क्यापिटल नेपालकै पहिलो मर्चेन्ट बैंकिङ सेवा प्रदायक हो । क्यापिटलमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ । लगानीकर्ताले यो योजनामा धितोपत्र बोर्डबाट स्वीकृत सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट वा सी–आस्वा प्रणालीमार्फत अनलाइन ‘मेरो सेयर’ प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

निष्कासनअघि गरिएको रेटिङमा इक्रा नेपालले कोष प्रवर्द्धकलाई इक्राएनपी इस्यूअर रेटिङ ए माइनस र योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले आईआरएन एएमसी क्वालिटी ३ प्लस रेटिङ दिएको छ । कम्पनीले यो योजना व्यावसायिक व्यवस्थापन, विविधीकरण, पारदर्शिता, सहज पहुँच, कर छुट र लगानीकर्ता संरक्षणका कारण लगानीकर्ताका लागि आकर्षक अवसर बन्ने दाबी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्