
काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा आएको भीषण बाढीबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । केर काउन्टीमा आएको बाढीका कारण २५ भन्दा बढी बालबालिका सम्पर्कविहीन रहेको सरकारी अधिकारीहरूले जनाएका छन् ।
मृतकको संख्या अझ बढ्नसक्ने काउन्टीका प्रहरी अधिकारी लेरी एल. लाइथाले बताइन् ।
यसैबीच, कार्यवाहक गभर्नर ड्यान प्याट्रिकले केर काउन्टीस्थित क्याम्प मिस्टिक नामक बालिका शिविरमा २३ देखि २५ बालिका सम्पर्कविहीन रहेको बताएका छन् ।
अहिलेसम्म २३७ जनाको उद्धार गरिसकिएको समाचारमा उल्लेख छ ।
धेरै स्थानमा आकस्मिक बाढीको घोषणा गरिएको छ । अझै केही समय मौसममा सुधार हुने सम्भावना नभएको समाचारमा उल्लेख छ । धेरै ठाउँहरूमा मुसलधारे वर्षा भइरहेकाले साँझसम्म बाढीको जोखिम उच्च रहेको बताइएको छ ।
सुरक्षा अधिकारी, उद्धारकर्मी र स्थानीय प्रशासन सक्रिय रूपमा बाढीपीडितहरूको उद्धार र खोजी कार्यमा खटिएका छन् । स्थानीय जनतालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । बीबीसी