
कराँची । पाकिस्तानको कराँचीमा एउटा भवन भत्कँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । शनिबार अपराह्न भग्नावशेषमा थप तीनजनाको शव फेला परेको उद्धार अधिकारीले पुष्टि गरेका छन् ।
कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा ६ तले आवासीय भवन भत्कँदा उक्त विध्वंसकारी घटना भएको हो । पाँच महिलासहित नौजनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको उद्धारकर्मीले बताएका छन् ।
कराँचीका नगरप्रमुख ब्यारिस्टर मुर्तजा वहाबले करिब २० जना भग्नावशेषमा फसेका अनुमान गरिएको र उद्धार कार्य जारी रहेको बताएका छन् । भग्नावशेषबाट १९ जनाको उद्धार गरिएको उनले पुष्टि गरे ।
घाइतेमध्ये ६ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । एसएमबीबी ट्रमा सेन्टरमा तीन घाइतेको उपचार भइरहेको एआरवाई न्युजले जनाएको छ ।
नगर प्रमुखले भने, “उद्धार कार्य अझै जारी छ । टोलीहरू अरू कोही पनि भग्नावशेषमा नफसेका निश्चित नहुँदासम्म काम गरिरहनेछन् ।” रासस/एएफपी