
काठमाडौं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले समालोचक साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठलाई ‘लीलाध्वज थापा साहित्य सम्मान/पुरस्कार’ प्रदान गरेको छ । सम्मानका साथ २५ हजार रुपैयाँ प्रदान गरियो ।
उपन्यासकार लीलाध्वज थापाको १०५औँ जन्मजयन्तीको अवसर पारेर शनिबार (असार २१) काठमाडौंमा आयोजित कार्यक्रममा कविवर बैरागी काइँलाले प्रा. डा. श्रेष्ठलाई सम्मान गरे ।
कार्यक्रममा वि.सं. २००९ सालमा प्रकाशित लीलाध्वज थापाको निबन्धकृति ‘दाह्री’को पुनर्मुद्रित संस्करण र समालोचनाकृति ‘विवेचकको दृष्टिमा विजयध्वज थापा’ लोकार्पण पनि गरियो ।
कविवर काइँलाले डा. श्रेष्ठलाई सम्मान गर्दा आफू नै सम्मानित भएको अनुभूत गरेको बताए ।
कार्यक्रममा समालोचक प्रमोद प्रधानले समीक्षात्मक मन्तव्य दिए । उनले ‘दाह्री’ एक हास्यरसले भरिएको कृति भएको चर्चा गरे ।
प्रा. डा. श्रेष्ठले आफूलाई सम्मान गरिएकामा खुसी व्यक्त गरे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, अग्रज साहित्यिक पत्रकार रोचक घिमिरे, रामप्रसाद पन्तलगायत व्यक्तिले बोले । कविहरू विप्लव ढकाल, रञ्जना निरौला, भीष्म उप्रेती र गीता कार्कीले कवितावाचन गरे ।