
सिड्नी । नेप्लिज अस्ट्रेलियन युथ एसोसिएसन (नया)ले सिड्नीमा जुवासम्बन्धी जागरण अभियान थालेको छ । अस्ट्रेलियामा उच्च अध्यनमा आएका कैयौँ नेपाली विद्यार्थी जुवातासको कुलतमा फसेर पढाइ बरबाद गर्नुका साथै मानसिक रोगी समेत बन्न थालेको भन्दै नयाले सचेतना कार्यक्रम अगाडि बढाएको हो ।
अस्ट्रेलियाका हरेक सहर, टोलमा खुल्लमखुल्ला जुवाघर सञ्चालनमा छन् । नेपाली विद्यार्थी पनि बिस्तारै त्यसको कुलतको सिकार बन्दै गएका पछिल्ला केही घटनाले पुष्टि गरेको छ ।
नयाले स्थानीय गैरसरकारी संस्था कम्युनिटी एन्ड कल्चर कनेक्सनको सहयोगमा एकदिने जागरण अभियानको आयोजना गरेको हो । त्यसक्रममा जुवाको लत पनि एउटा रोग भएकाले यसको रोकथामका निम्ति पीडितलाई सल्लाह–सुझाव र आवश्यक पहलकदमी आवश्यक रहेको औँल्याइयो ।
कार्यक्रममा एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेलले नेपालमा प्रतिबन्धित जुवा यता आएपछि खुल्लमखुल्ला हुनु अनि साथीभाइको लहलहैमा लाग्नाले पनि युवा यसमा फस्दै गएको बताए । बेलैमा सही परामर्श पाएमा यसबाट जोगिन सकिने उनले उल्लेख गरे ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले हाल यो लत नेपाली विद्यार्थीमा भयावह रोगका रूपमा देखिएको बताए ।
अस्ट्रेलियाको एउटा प्रतिष्ठित बैंकको तथ्यांकमा अनलाइन जुवा खेल्नेमा नेपाली समुदाय पहिलो नम्बरमा रहेको पाइएको भन्दै उनले यसको न्यूनीकरण टड्कारो आवश्यकता रहेको औँल्याए ।
नेपालबाट आएका कैयौँ विद्यार्थी जुवासँगै डिप्रेसन र लागुपदार्थको कुलतमा फस्ने गरेको पाइएकाले यसलाई रोक्न जागरण अभियान थालिएको नयाका अध्यक्ष विपीन थापाले बताए ।