1690129431.jpg)
काठमाडौं । देशका केही भूभागमा आइतबार (असार २२) बेलुका भारी वर्षाको सम्भावना औँल्याइएको छ । विशेष गरी पश्चिम नेपालमा भारी वर्षा हुने मौसमविद्ले जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले शनिबार (असार २१) राति र आइतबार दिउँसोसम्म देशका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरेका छन् ।
“आज राति र भोलि दिउँसोसम्म अधिकांश ठाउँमा हल्का वर्षाको सम्भावना छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “तर, भोलि (आइतबार) बेलुका भने नेपालभरि वर्षा र आधा पश्चिम नेपालमा त भारी वर्षा हुने देखिन्छ ।”
काठमाडौंसहित केही दिनयता देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । भारी/धेरै भारीसम्म वर्षा मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले पनि आइतबार केही भूभागमा भारी वर्षा हुने जनाएको छ । “कोसी, वाग्मतीभन्दा पश्चिम नेपालमा भारी वर्षाको सम्भावना बढी छ । भारी वर्षाको सम्भावना रातिको समयमा बढी हो,” महाशाखाका मौसमविद् डेविड ढकालले बाह्रखरीसित भने, “कोसीतिर पनि नभएको होइन, सम्भावना एक/दुई ठाउँमा मात्र छ ।”
पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि आइतबार साँझ गण्डकी प्रदेश क्षेत्र र वरिपरि भारी वर्षाको सम्भावना औँल्याएका छन् ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।