site stats
बाह्रखरी :: Baahrakhari
विशेष
प्रहरीनै ग्राहक बनेर मध्यरातमा समात्यो ५० किलो चरेश  

काठमाडौं । प्रहरीले रोल्पाको थवाङ गाँउपालिका ३ घर्तिगाँउबाट ५० किलो अवैध लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ । 

प्रदेश नम्बर ५ प्रहरी कार्यालयको विषेश ब्युरोको टोलीले शनिबार बिहानपख अर्थात् करिब ४ बजेतिर ५० किलो तयारी अवस्थामा रहेको अवैध लागुऔषध चरेश बरामद गरेको हो । 

विषेश सूचनाको आधारमा रोल्पा पुगेको ब्युरोको टोलीले लातावाङका २२ वर्षिय प्रश्न बुढामगर र शेरबहादुर बुढामगरलाई नियन्त्रणमा लिएर उनीहरुको साथबाट ५० किलो अवैध चरेश बरामद गरेको प्रदेश नम्बर ५ प्रहरी प्रमुख एआईजी मधु पुडासैनीले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“५ नम्बर प्रदेश प्रहरी कार्यालयले लागुऔषधुविरुद्ध अभियाननै संचालन गरेको छ,” एआईजी पुडासैनीले बाह्रखरीसँग कुरा गर्दै भने, “अवैध लागुऔषधको कारोबार तथा ओसारपसार हुने क्षेत्रलाई पहिचान गरी विषेश निगरानी बढाएका छौं । रोल्पा चरेश उत्पादन हुने मुख्यस्थल भएकाले रोल्पामा अलि बढी निगरानी गरेका छौं ।”

प्रहरीका अनुसार आईतबार राति पक्राउ परेका २ जना गाँउमा चरेश उत्पादन गर्न लगाउने र संकलित चरेश भारतीय बजारमा पुर्याउने काम गर्दै आएका थिए ।

नेपालगञ्जमा जति पाईने मुल्य गाँउमा पाउने भएपछि उनीहरुले पक्राउ गर्न गएको प्रहरी टोलीलाई ४० हजार प्रति किलोका दरमा चरेश दिन राजी भएका थिए  । 

त्यसपछि मात्रै प्रहरीले आफ्नो परिचय दिँदै पक्राउ गरेका थिए । प्रहरीका अनुसार विशेष  सूचना प्राप्त भएपछि ग्राहक बनेर प्रहरीको एक टोली नै गाउँमा पुगेको थियो ।

चरेशसहित पक्राउ परेका २ जनालाई आवश्यक कारवाहीका लागि ब्युरोको टोलीले जिल्ला प्रहरी कार्यालय रोल्पामा बुझाएको छ । 


 

प्रकाशित मिति: आइतबार, माघ १४, २०७४  ०९:२५
प्रतिक्रिया दिनुहोस्