
काठमाडौं । रसिया विश्वकपको समूह चरणका खेलमध्ये विषेश चासोका साथ हेरिएको बेल्जियम र इंग्ल्यान्डबीचको खेल बिहीबार (आज) हुँदैछ । यी दुई टोलीबीच हुने खेलको नतिजाले नकआउट चरणमा पुग्ने सम्भावनामा कुनै असर नपार्ने भए पनि विश्वकप ट्रफी जित्ने आधारशीला भने यहीबाट तयार हुनेछ ।
आफ्ना दुवै खेलमा विजयी नतिजा हासिल गरी नकआउट चरणका लागि छनोट भइसकेका यी टोली पक्कै पनि सजिलो पुलमा परेर विश्वकप यात्रा सहज बनाउन चाहनेछन् । यसो त सहज पुलमा परेर यात्रा सहज बनाउने भन्दा पनि खेल जितेर उच्च मनोबलका साथ नकआउट चरणमा भिड्ने योजना पनि नहोला भन्न सकिन्न ।
यो सबै टोलीको रणनीतिमै भर पर्नेछ । यद्यपि, प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको सूचीमा यिनै दुई टोलीका स्ट्राइकर रहनुले खेल एट्याकिङ र प्रतिस्पर्धी हुने आँकलन फुटबल पण्डितहरुको छ ।
विश्वकप सुरु हुनुपूर्व स्पेन र पोर्चुगलपछि निकै महत्वका साथ हेरिएको यो खेलले दर्शकको पनि पक्कै साथ पाउला । तर, रसिया विश्वकपमा पहिलो चरणका ४ खेलमात्र बाँकी रहँदा आएका नतिजाले सबैको अनुमान गलत सावित गरिदिएको छ । सम्भावित विजेताको कमजोर प्रदर्शन भइरहेको बेला दुवै टोली (बेल्जियम र इंग्ल्यान्ड) प्रतियोगिताभर सर्वाधिक ८–८ गोल गरेका छन् । यसहिसाबमा पनि दुवै टोलीको प्रदर्शन उच्चकोटीको हुने अपेक्षा गरिएको छ ।
आजको खेल विजय र पराजयभन्दा पनि बढी कुन “पूल”मा परेर नकआउट चरण खेल्नेमा केन्द्रित रहनेछ । तर, प्रतिस्पर्धा गरेर ट्रफी जित्न चाहने हो भने आजको खेल जितेर आत्मविश्वास बटुल्नु दुवै टोलीको लक्ष्य हुनेछ ।
यता इंग्ल्यान्डका कप्तान ह्यारी केन र बेल्जियमका रोमेलु लुकाकु सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष दुईमा छन् । तसर्थ, आजको खेलमा दुवै टोलीले उत्कृष्ट फर्मेसनका साथै मेदान उत्रिनेछन् वा, कमजोर टोली लिएर मैदानमा फितलो प्रदर्शन गर्नेछन्, त्यो भने हेर्न बाँकी नै छ ।
यता बेल्जियमका लागि सर्वाधिक गोल गरेका लुकाकु र कप्तान एडिन हाजार्ड अनफिट रहेको समाचार बाहिर आउँदा उनीहरु मैदानमा नउत्रेलान् कि भन्ने प्रश्न पनि छ । दुवै खेलाडी मैदान नछिरे युवा खेलाडीको बाहुल्य रहेको इंग्ल्यान्डले बेल्जिमयममाथि धावा बोल्ने जानकारहरु बताउँछन् । तर, दुवै खेलाडी मैदान छिरे लयमा रहेको बेल्जियमको जित पक्का रहेको उनीहरुको दावी छ ।
कस्तो छ अवस्था ?
अहिलेसम्म समूह “जी” मा रहेका यी दुवै टोलीले आफ्नो दुवै खेल जितेर ६–६ अंक जोडेका छन् । उनीहरुको गोल अन्तर पनि बराबर छ । समूह चरणका पहिलो दुई खेलमा दुवै टोलीले समान ८–८ गोल गरेका छन् । फिफा विश्वकपको नियमअनुसार समूह चरणको विजेताको टुंगो लगाउनका लागि सर्वप्रथम उनीहरुको अंक हेर्ने गरिन्छ । बराबर अंक भएमा गोलअन्तर हेरिन्छ । त्यो पनि बराबर भए कुन टिमले बढी गोल गरेको छ, हेरिन्छ ।
नियमअनुसार उल्लेखित सबै कुरामा फरक नदेखिए फेयर प्लेको प्रावधान राखिएको छ । यसअनुसार फेयर प्लेमा धेरै अंक ल्याउने समूह विजेता बन्छ । यसको छिनोफानो टिमले पाएको पहेंलो र रातो कार्डको संख्याबाट यसप्रकार निर्धारण हुन्छ ।
पहेंलो कार्ड : माइनस १ पोइन्ट
दोहोरो पहेंलो कार्ड (रातो) : माइनस ३ पोइन्ट
सिधा रातो कार्ड : माइनस ४ पोइन्ट
पहिले पहेंलो कार्ड र त्यसपछि रातो कार्ड : माइनस ५ पोइन्ट
यसहिसाबमा जुन टोली अनुसाशित भएर प्रतियोगिता खेलेको छ, सोही टिम समूह विजेता बन्छ । यदि आजको खेल बराबरीमा रोकिएको र कुनै कार्ड प्रयोग नभएको अवस्थामा यो समीकरण इंग्ल्यान्डको पक्षमा छ । इंग्ल्यान्डले अहिलेसम्म २ वटा पहेंलो कार्ड पाएको छ भने बेल्जियमको ३ वटा पहेंलो कार्ड छ ।
प्रतियोगिता समीकरण यस्तो छ
यता दुवै टोलीलाई सहज प्रतिद्वन्द्वी पाउन समूह “जी” बाट उपविजेता हुन जरुरी छ । किनकी, समूह उपविजेता हुने टोलीले प्रि–क्वाटरफाइनलमा समूह एचको विजेतासँग भिड्नेछ, जसको टुंगो अझैसम्म लागेको छैन ।
यसैगरी उक्त खेल जिते अन्तिम आठमा स्वीट्जरल्यान्ड र स्वीडेनमध्ये एकसँग खेल्नुपर्नेछ । समूह चरणको खेल हेर्दा सहज मानिएका यी दुवै टोलीलाई सहज मानिए पनि जित्ने पक्का भने छैन । यदि यो खेल जिते स्पेन, रसिया, क्रोएसिया वा डेनमार्कमध्ये एक टिमसँग खेल्नुपर्नेछ ।
यता अर्को पूल भने निकै कठिन देखिएको छ । यस समूहको समूह विजेताले समूह एचको उपविजेतासँग खेल्नुपर्ने भए पनि त्यसपछिको यात्रा भने कठिन छ । अन्तिम १६ को खेल जिते क्वाटरफाइनलका लागि उसले ब्राजिल वा मेक्सिकोसँग खेल्नुपर्नेछ भने सेमिफाइनलमा उरुग्वे, पोर्चुगल, फ्रान्स वा अर्जेन्टिनासँग खेल्नुपर्नेछ ।
फर्म र हेड–टु–हेड
इंग्ल्यान्ड पछिल्ला ८ खेलमा अपराजित छ भने बेल्जियमले पछिल्ला ९ खेल हारेको छैन । यी दुई टोलीबीच हालसम्म भएको खेलमा २१ खेलमा १५ इंग्ल्यान्डले जित हात पारेको छ भने २ वटामा बेल्जियमले नतिजा आफ्नो पक्षमा पारेको छ ।
के भन्छन् समर्थक ?
दुवै टोलीका समर्थक आफ्नो टोली सहज पूलमा परेर फाइनलको यात्रा गरेको देख्न चाहन्छन् । यसैकारण, सायद चालू विश्वकपमै पहिलोपटक समर्थकले आफ्नो टोली हारेको देख्न चाहन्छ ।
सबिन सापकोटा, इंग्ल्यान्ड समर्थक
आजको खेल एकदमै प्रतिपर्धात्मक हुने अपेक्षा गरेको छु । दुवै टोलीको स्तर एउटै छ । र प्रतितियोगितामा राम्रो प्रदर्शन गरेका छन् ।
म इंग्ल्यान्डको समर्थक भएको नाताले आफ्नो टोली सहज पूलमा परेको देख्न चाहन्छु । उसलाई हारेकोमा फाइदा छ तर विश्वकप जित्न सक्ने टोली भएकाले उसलाई उच्च मनोबल आवश्यक पर्छ ।
इंग्ल्यान्डले हार्यो भने सजिलो टिम पाउँछ तर, जितेर उच्च मनोबलसहित विश्वकप जिेत्ने बाटोमा अग्रसर होस् भन्ने मेरो कामना छ । आजको गेम प्रतिस्पर्धात्मक होला भन्ने मेरो अपेक्षा छ ।
विक्रान्त नरसिंह रााणा, बेल्जियम समर्थक
मेरा विचारमा आज दुवै टिमले बल होल्ड गरेर खेल्छन् । दुवै टिम क्वालिफाइ भइसके । बेल्जियमका लागि लुकाकु घाइते छन् ।
विश्वकप एउटा प्रतिस्पर्धा हो । कुनै टिमलाई कमजोर आँक्न सकिँदैन । तर, समूह विजता भएर जाँदा टोलीको मनोबल बढ्छ । त्यसैले बेल्जिमयले जितेरै जाओस् जस्तो लाग्छ । यस्तो अवस्थामा आजको गेम एट्याकिङ र ओपन होला भन्ने मेरो अपेक्षा छ ।