site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सचिवालय बैठकमा नेपाल र प्रवक्ता श्रेष्ठको ‘नोट अफ डिसेन्ट’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सोमबारको बैठकमा तेस्रो वरियताको नेता माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । नेता नेपालले असोज २२ गतेको सचिवालयको बैठकमा लिखित असन्तुष्टि दर्ता गरेका थिए ।

तर, सोमबारको बैठकले नेता नेपालको असन्तुष्टि सम्बोधन नगरी ५ असोजको सचिवालयको बैठकले प्रदेशको जिम्मेवारी बाँडफाँट गर्ने निर्णय नै सदर गरेपछि नेताद्वयले ‘नोट अफ डिसेन्ट’ लेखेको सचिवालयका एक नेताले बाह्रखरीलाई जानकारी दिएका छन् । प्रदेश कार्यविभाजनप्रति पवक्ता श्रेष्ठको पनि असन्तुष्टि थियो । त्यतिबेला लिखित असन्तुष्टि व्यक्त नगरेका श्रेष्ठले सोमबारको सचिवालयको बैठकमा नेता नेपाललाई साथ दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेता नेपालले लिखितरूपमा बुझाएको पत्रमा पार्टीका हरेक निर्णय सहमतिका आधारमा गरिनुपर्ने, पार्टीले यसअघि तय गरेको मापदण्डमै टेकेर एकव्यक्ति एक पद, जिम्मेवारी बाँडफाँट गरिनुपर्नेलगायतका विषय समाविष्ट थिए ।

नेता नेपालले आफू विदेश भएकाबेला २८ भदौमा बसेको सचिवालयको बैठकको मर्म, भावना लत्याएर प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिएको भन्दै असन्तुष्टि व्यक्ति गर्दै आएका छन् । भदौको अन्तिम साता (२८ भदौ)मा बसेको सचिवालयको बैठकले प्रदेश, जिल्ला तहको कमिटी एकीकरण गर्न नयाँ मापदण्ड, विधि तय गर्न प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

यसैबीच नेताद्वय नेपाल र श्रेष्ठले लेखेको ‘नोट अफ डिसेन्ट’लाई स्थायी कमिटीको बैठकमा छलफलका लागि प्रस्तुत गरिने समझदारी भएको सचिवालय स्रोतले जानकारी दियो ।
“नेता नेपाल र प्रवक्ता श्रेष्ठको ‘नोट अफ डिसेन्ट’लाई कात्तिक १३ र १४ गतेको स्थायी कमिटीको बैठकमा पनि प्रस्तुत गरिनेछ,” सचिवालयका नेताको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  ००:०४
प्रतिक्रिया दिनुहोस्