-1750347324.jpg)
काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले संघीय संसद्अन्तर्गत गठित नेपाल–पाकिस्तान संसदीय मैत्री समूहसँग भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, वर्तमान सहकार्य र भविष्यका सम्भावनाबारे जानकारी गराए ।
भेटवार्तामा मैत्री समूहका सांसद, नेपालस्थित पाकिस्तान दूतावासका कूटनीतिक अधिकारी तथा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका प्रतिनिधिहरू समेतको उपस्थिति थियो ।
भेटका क्रममा राजदूत हाश्मीले पाकिस्तान र नेपालको दीर्घकालीन, आत्मीय र सौहार्दपूर्ण सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्दै पाकिस्तानको वर्तमान आर्थिक स्थिति र क्षेत्रीय परिवेशबारे समेत जानकारी गराए ।
उनले व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति, जलवायु अनुकूलन, जनस्तरीय सम्बन्ध तथा क्षेत्रीय शान्तिका क्षेत्रहरूमा द्विपक्षीय सहकार्यको थप सम्भावनाबारे प्रकाश पारे ।
भेटका क्रममा दुवै पक्षले दुई देशको हितका लागि नियमित रूपमा मिलेर काम गर्ने संकल्प गरे । बलियो संस्थागत सम्बन्ध निर्माण, खुला संवाद र बहुआयामिक सम्बन्धलाई बढाएर दुई देश र जनताबीचको मित्रतालाई अझ सुदृढ गर्दै लैजाने नेपालस्थित पाकिस्तान दूतावासद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।